मंसिर पहिलो साता राष्ट्रिय कार्यशाला गोष्ठी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

मंसिर पहिलो साता राष्ट्रिय कार्यशाला गोष्ठी

sadan

काठमाडौं, ८ कात्तिक । संसदीय समितिले मौजुदा ऐन, कानुन कार्यान्वयनको मापन विधि र प्रक्रियाका विषयमा छलफल गर्न राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने भएको छ ।

ऐन, कानुन कार्यान्वयनको मापन गर्ने जिम्मेवारी पाएको राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले हालसम्मको ऐन, कानुन कार्यान्वयन मापनको विधि र प्रक्रिया तय गर्न आगामी मंसिर पहिलो साता राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो ।

सम्बन्धित मन्त्रालय, नेपाल कानुन आयोग र कानुन निर्माण र कार्यान्वयनसँग सम्बन्धित अन्य सरोकारवाला निकायसँग आवश्यक परामर्श लिई ऐन, कानुन मापन विधि र प्रक्रिया तय गर्न समितिले मंसिर पहिलो साता राष्ट्रिय कार्याशाला गोष्ठी आयोजना गर्ने कार्य योजना तय गरेको समितिका सभापति परशुराम मेघी गुरुङले जानकारी दिए ।

समितिले मौजुदा ऐन, कानुनको मापन विधि र प्रक्रिया तय गर्नका लागि हालसम्मका ऐनहरुको वर्गीकरणको काम पनि सुरु गरेको छ । २०१० साल यताका ऐन वर्गीकरणको काम पनि सुरु गरिएको समितिले जनाएको छ ।

हालसम्म ३ सय ३९ वटा कानुन वर्गीकरणका क्रममा पाइएको पनि समितिका सभापति गुरुङले बताए । कानुन कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन समितिले कानुन मापन विधि र प्रक्रियामा जोड दिनु परेको पनि समितिले स्पष्ट पारेको छ ।

बैठकमा समितिका सदस्यहरुले न्याय सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ समितिले हालसम्मका ऐन, कानुनको प्रभावकारिताका बारेमा छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

समितिका सदस्य वृशेषचन्द्र लालले जनताले न्याय पाउन सहजहोस् भन्ने उद्देश्यका साथ ऐन, कानुन मापनको कामलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

विद्यमान ऐन, कानुन कार्यान्वयन मापनको मुख्य जिम्मेवारी पाएको विधायन व्यवस्थापन समितिले २०१० साल यताका विभिन्न कालखण्डका ऐन, कानुनहरुको मापन विधि र प्रक्रिया माथिको छलफल सुरु गरेको हो ।

समितिका सभापति गुरुङले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुसन्धानको कामलाई पनि समितिले आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);