टेकेन्द्र बस्याल
बाँके, ७ कात्तिक । यस बर्ष बाँकेमा धान उत्पादनमा बृद्धि भएको छ । बर्षातमा मनसुन राम्रो हुनुका साथै उच्च गुणस्तरको विउ विउजनका कारण गत बर्ष भन्दा बाँकेमा धान उत्पादनमा वृद्धि भएको हो ।
विगत भन्दा धान उत्पादन बृद्धि भएपछि बाँकेका कृषकहरु खुशी भएका छन् । पाकेको धान काट्न, भित्र्याउन र विक्रि गर्नका लागि यतिबेला कृषकहरु व्यस्त छन् । गत बर्षको तुलनामा यस वर्ष मनसुन समयमै हुनु र उच्च विउ विउजनका कारण पनि धान उत्पादनमा वृद्धि भएको कृषकहरुको अनुमान छ ।
यसपाली कृषकहरुले धानमा मुनाफा हुने अनुमान गरेका छन् । रासयनिक मलखाद र धानको विउ पनि यसपाली समयमा कृषकले पाएका थिए । बाँकेमा दशैदेखि धान भित्र्याउन शुरु भएको छ । यस वर्ष कृषकहरुले परम्परागत भित्र्याउने शैली छोडेर मेसिनको प्रयोग गरेका छन् ।
यसपाली जिल्लामा १० देखि १५ प्रतिशत धानको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । आकाशे पानीको भरमा हुने ७५ प्रतिशत धान खेतीका लागि नियमित बर्षात, समयमा मलखाद र धानको विउ पाएकोले उत्पादन बढेको दावी गरिएको छ ।
गत बर्ष बाँकेमा १३ लाख ३४ हजार चार सय ३९ क्विन्टल धान फलेको थियो । बाँके जिल्लामा २५ प्रतिशत जमिनमा मात्र सिँचाईको व्यवस्था रहेको छ । ५७ हजार २ सय ५२ हेक्टर खेती योग्य जमिन छ ।
३६ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा मात्र धान खेती गरिन्छ । सिंचाईको ब्यवस्था नभएको २१ हजार ७ सय हेक्टर जमिनमा आकाशे पानीको भरमा रोपाई गरिन्छ ।