काठमाडौं, १४ असोज । संसदीय समितिले दसैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतबार बसेको बैठकले दसैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले दैनिक उपभोग्य बस्तुको कालाबजारी हुन नदिने गरी आवश्यक अनुगमनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।
समितिले निर्माण भएको एक बर्ष नबित्दै कालीगण्डकीनदीको तटबन्द भत्किनुको कारण समितिमा एक हप्ता भित्र पेश गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पनि निर्देशन दिइएको छ । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले मन्त्रालयको नीति, कार्यक्रम र बजेटबारे समितिलाई जानकारी गराएका थिए ।
मन्त्री खनालले कृषकलाई मलको अभाव हुन नदिन आफू सचेत रहेपनि बजेटको अभाव रहेको समितिलाई जानकारी गराएका थिए ।