तीजमा न्यायको कामना | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

तीजमा न्यायको कामना

ACTORS

काठमाडौँ, २८ भदौ । महिलाहरूको विशेष पर्व अर्थात् हरितालिका तीज मनाइरहँदा महिलाले निर्धक्क बाँच्न पाउने अधिकार सुनिश्चित होस् भन्ने आवाज यसपालि निकै उठ्यो ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारालाई जोगाइराखेको र बलात्कारका घटना कम हुन नसकेको भन्दै कलाकर्मीले तीजको सन्दर्भमा निराशा पोखे । महिलाले बाँच्नका लागि सुरक्षित वातावरण पाऊन् भन्ने तिनको माग थियो । अभिनेत्री केकी अधिकारीले बुधबार बिहानै तीजको सन्देशमूलक शुभकामना ट्वीट गरिन् । उनले लेखेकी छन्, ‘निर्धक्क भई नाच्न, गाउन, खुलेर हाँस्न अनि बाँच्न तीजको सहारा लिन नपरोस् । हरितालिका तीजको हामी सबैलाई निडर शुभकामना ’अभिनेत्री नम्रता श्रेष्ठले पनि अन्यायविरुद्ध लड्ने शक्ति मिलोस् भन्ने आशयको ट्वीट गर्दै तीजको शुभकामना बाँडेकी थिइन् । ‘जीवनमा आइपर्ने अप्ठयारासँग जुध्न हामीलाई तागत प्राप्त होस्,’ उनको ट्वीट थियो, ‘सम्पूर्ण महिलालाई अझ बढी शक्ति मिलोस् । हयाप्पी तीज ।’
अनशन होइन, व्रत
फिल्मको प्रचारमा डुलिरहेकी भए पनि अभिनेत्री पूजा शर्माले तीजको रीत छोडिनन् । उनी बुधबार ‘रामकहानी’ लिएर चितवनमा थिइन् । ‘निराहार व्रत बसेर भए पनि’ उनले दर्शकसँग रमाइलो गरिन् । ‘धेरै वर्ष भयो तीजमा व्रत बस्न थालेको,’ उनले भनिन्, ‘विश्वास लाग्छ । एक छाक खाएर व्रत बस्छु ।’ पूजाले राम्रो पति पाउन नभएर आफ्नै लागि व्रत बसेको बताइन् । साँझ फलफूल खाएर व्रत तोड्ने सोचमा रहेकी उनले दिनभर चाहिँ पानीसमेत नखाएको दाबी गरिन् ।

‘यहाँ हलहरू हाउसफुल छन्,’ उनले उत्साहित हुँदै भनिन्, ‘तीजमा व्रत बसेको फल अहिले नै पाइसकेँ जस्तो लागिरहेको छ ।’ अविवाहित पूजा व्रत बसिरहँदा यसैपालि दाम्पत्य जीवनमा बाँधिएकी गायिका सुबानी मोक्तान टन्न खाएर बसेकी थिइन् । उनले आजसम्म तीजको व्रत नबसेको बताइन् । ‘हाम्रोमा त्यस्तो चलन छैन,’ उनले भनिन्, ‘बरु, दर कार्यक्रममा चाहिँ धेरै गइयो । नखाएरभन्दा खाएरै तीज मनाउने गरेकी छु ।’ उनलाई यो पर्व सम्बन्ध नजिक्याउने अवसरझैं लाग्छ ।

‘पहिलेभन्दा अहिलको तीज बढी रमाइलो हुन थालेको छ,’ सुबानीले सुनाइन्, ‘नाचगान, रमाइलो गरिन्छ । महिलाहरू अरू बेला कहाँ यसरी खुल्छन् । गायिकाले तीजको शुभकामना व्यक्त गर्दै इन्स्टाग्राममा आफ्नै तस्बिर सेयर गरेकी थिइन् । रातो साडीमा सजिएको उनको तस्बिरमा धेरै लाइक्स आएका थिए । गायिका इन्दिरा जोशी भने बुधबार बिहानै पशुपतिनाथ मन्दिर पुगिछन् । हातमा फूलपातीको टोकरी बोक्दै गरेको तस्बिर उनले पनि इन्स्टाग्राममा राखेकी थिइन् ।

पूर्वमिस नेपाल जेनिशा मोक्तानले पनि रातै कुर्ता–सुरुवालमा सजिएको आफ्नो तस्बिरमा ‘तीजको लहर आयो बरिलै’ क्याप्सन लेखेर इन्स्टातिरै पोस्ट गरेकी थिइन् । अभिनेत्री अनु शाह, प्रकृति श्रेष्ठलगायतले पनि सामाजिक सञ्जालमा तीजको रमझम प्रस्तुत गरेका थिए ।
रंगकर्मी लक्ष्मी बर्देवा बुधबार बिहान आठ बजेतिर उठेर नुहाई धुवाई गरी काममा निस्किइन् । दिउँसो एक बजे दूध र स्याउ खाइन् अनि साँझ पनि फलफूल मात्र खाइन् । ‘म निराहार व्रत बस्दिनँ,’ उनले भनिन्, ‘पानी नखाई बस्नु त झनै खराब लाग्छ ।’

उहिलेदेखि तीजमा व्रत बस्दै आएको लक्ष्मीले बताइन् । उनी साउनको सोमबार र तीजमा सधै व्रत बस्छिन् । ‘पूजापाठ केही गर्दिनँ,’ उनले भनिन्, ‘तीजमा मन्दिर पनि जाने गरेको छैन । तर, खानाचाहिँ छोड्छु ।’ आफूले आफैंलाई सकस दिएर व्रत बस्नु आफ्ना लागि अन्याय हुने भएकाले उनी व्रतलाई अनशनजस्तो बनाउन नहुने तर्क गर्छिन् । ‘खाना नखाँदा केही हुन्न’, उनले भनिन्, ‘तर, पानी पनि नखानुचाहिँ गलत हो । शरीरलाई दुख दिएरचाहिँ व्रत नबसौं ।’कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);