पहिलो नम्बरमा ‘घामपानी’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पहिलो नम्बरमा ‘घामपानी’

keki n dayahang

काठमाडौँ, ३ भदौ । बिहीबार युटयुबमा अपलोड गरिएको फिल्म ‘घामपानी’ शनिबारसम्म पूरापूर ‘हिट’ भयो । भ्युज बढेर युटयुबमा नेपाल ट्रेडिङको पहिलो नम्बरमा उक्लिएपछि निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारीलगायतले फेसबुकमा स्टाटस नै लेखे ।

दुई दिनअघि मात्रै फिल्मको युटयुब रिलिजको सूचना फेसबुकबाटै साझेदार गरेका निर्देशक लामाले शनिबार लेखेका छन्, ‘युटयुब ट्रेडिङको नम्बर एकमा ‘घामपानी’ । सबै टिमलाई बधाई छ ।’ बाहुन युवती र तामाङ युवकबीचको अन्तरजातीय प्रेमकथामा आधारित फिल्म पोहोर साल वैशाखमा प्रदर्शन भएको थियो । यसका गीत, ट्रेलर र फिल्मका टुक्राहरू युटयुबमा आइरहँदा दर्शकले पूरा फिल्म अपलोड गर्न माग गर्दै आएका थिए । ‘धेरै प्रतीक्षा गर्नुपर्‍यो,’ सुमिथ तुकमायाले कमेन्ट गरेका छन्, ‘दयाहाङ राईको यो फिल्म हेर्ने धोको बल्ल पूरा भयो ।’
फिल्मको सबटाइटल स्तरीय नभएकोमा केहीले खल्लो मानेका छन् । गणेश कठायतले यसमा समाविष्ट तामाङ सेलो गीत र नाच खुब मन परेको उल्लेख गरेका छन् । ‘फिल्म औसत लाग्यो,’ उनी लेख्छन्, ‘पात्र र पात्रको चरित्र जीवन्त लाग्यो । केही संवाद निकै राम्रा छन्, केही संवाद अझै राम्रो बनाउन सकिन्थ्यो ।’ फिल्ममा दया र केकीसँगै अंकित खड्का, प्रकाश घिमिरे, पुष्कर गुरुङलगायतको अभिनय छ ।

नेपाल ट्रेडिङको दोस्रो स्थानमा ‘नेपाल आइडल २’ को तेस्रो शृंखला आएको छ । आठ लाख भ्युज हुँदा करिब २५ सय प्रतिक्रिया आइसकेका छन् । मन परेको सहभागीको वाहवाही गर्ने, बेसुरा गाउनेको खिल्ली उडाउनेदेखि निर्णायकको लवाइमा समेत फिडब्याक दिइएको पाइयो । ‘यी कालीप्रसाद मान्छे राम्रो लाग्छन् मलाई,’ भुवन दाहालको नामका युटयुब दर्शक लेख्छन्, ‘तर, कपडा अलि सुहाउने लगाउनु नि । त्यसमाथि डल्लो परेर हिँड्नुुहुन्छ ।’

युटयुबबाटै चर्चित बनेको ‘कार्टुन्ज क्रु’ समूह एक हप्तायता ‘दन्ते मोहनी’ गीतको भिडियोका कारण चर्चामा छ । सचिन फुल्यालको स्वर रहेको गीतमा श्री थापा मगरको शब्द र संगीत छ । यसको भिडियोमा कार्टुन्ज क्रुका सदस्यलाई मिस्टर बिन, ज्याक स्प्यारो, बिन लादेनको मास्कमा देख्न सकिन्छ । भिडियोको कन्सेप्ट र नृत्य राम्रो भए पनि गीत छनोटमा समूह चुकेको बताउनेहरू धेरै देखिए ।

हास्य टेलिशृंखला ‘मेरी बास्सै’ को पछिल्लो अंक टेडिङको चौथो स्थानमा पर्दा यसको भ्युज आठ लाख थियो । नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम युटयुबमा आए पनि पहिलेजस्तो चर्चित छैन । सीताराम कट्टेल, केदार घिमिरे, कुञ्जना घिमिरे, विल्सन विक्रम राईजस्ता कलाकारले छोडेपछि यसको मिठास हराएको बताइन्छ । यसमा हाल राजु पौडेल, मरिचमान श्रेष्ठ, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, निरु खडका लगायतले अभिनय गर्दै आएका छन् ।

युटयुबमा यसकै कन्टेन्टले भन्दा टीभी कार्यक्रमका भिडियोले शनिबार नेपाल ट्रेडिङमा वर्चस्व राख्यो । एपी वानको ‘नेपाल आइडल २’, नेपाल टेलिभिजनको ‘मेरी बास्सै’ र हिमालय टीभीको ‘हिमालय रोडिज वायल्ड वेस्ट २’ ट्रेडिङमा थिए । रोडिजको पछिल्लो शृंखलामा करिब पाँच लाख भ्युज थियो । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);