एजेन्सी, १ भदौ । मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइटा आगामी पाँच बर्षका लागि राष्ट्रपति पदमा पुनः निर्वाचित भएका छन् ।
आगामी पाँच बर्ष पनि राष्ट्रपति नै रहनेगरी भारी मत अन्तरले उनि पुनः निर्वा्चित भएका त्यहाँको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन विदेशी पर्यबेक्षकहरुको कडा निगरानीमा भएको थियो । निर्वाचनमा ७३ बर्षीय केइटाले ६७.१७ प्रतिशत मत आफ्नो पक्षमा पार्न सफल भएका छन् । गत आइतबार भएको निर्वाचनमा उनँका प्रतिद्वन्द्वी तथा पूर्व अर्थमन्त्री सौमैला सिसेले ३२.८३ प्रतिशत मत ल्याएका छन् ।
सन् २०१३ मा पनि केइटासँग प्रतिस्पर्धा गरेका ६८ बर्षीय सिसेले त्यतिबेला ३४.५ प्रतिशत मत पाएका थिए । निर्वाचनमा पराजित भएको प्रतिपक्षी समूहहरूले भने नतिजा अस्वीकार गर्ने बताएका छन् । निर्वाचन परिणाम विश्वसनीय नभएको विपक्षीहरुको दावी छ । भूपरिवेष्ठित राष्ट्र मालीमा झण्डै २० थरीका आदीवासीहरूको मुख्य बसोबास रहदै आएको छ ।