अप्सरा लामिछाने
काठमाडौं, १७ साउन । पछिल्लो समय अपराधका मुद्धा दर्ता हुने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंको तथ्यांक अनुसार सबैभन्दा धेरै लागुऔषध र बलात्कार सम्बन्धि मुद्धा दर्ता भएको छ । सरकारले अपराधका घटना न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम संचलन गरेपनि प्रभावकारी भएको छैन ।
प्रहरी प्रधान कार्यालय काठमाडौंको तथ्यांक अनुसार अपराध सम्बन्धि मुद्धा दर्ता हुने क्रम बढेको हो ।कार्यालयमा आर्थिक वर्ष २०७४-०७५ मा ३९ हजार ३ सय १५ अपराध सम्बन्धि मुद्दा दर्ता भएका छन । अघिल्लो अर्थिक वर्ष २०७३-०७४ मा ३१ हजार ४ सय ६२ वटा मुद्दा दर्ता भएको थियो ।
आर्थिक वर्ष २०७४-०७५ मा सबै भन्दा धेरै लागुऔषध घटनाका मुद्धा दर्ता भएका छन । कार्यालयका अनुसार लागुऔषध सम्बन्धि ३ हजार ८८ मुद्दा दर्ता भएका छन । अघिल्लो अर्थिक वर्ष २०७३-०७४ मा २४ सय ६७ मात्र मुद्दा दर्ता भएको थियो । त्यस्तै बलात्कार समबन्धि पनि मुद्धा दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष २०७३-०७४ मा ११ सय ३७ वटा मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०७४-०७५ मा १ हजार ४ सय ८० वटा मुद्धा दर्ता भएको छ ।
त्यस्तै कर्तव्य ज्यान, ज्यान मार्नै उद्योग, डाका चोरी,व्यक्ति अपहरण र मानव बेचविखन जस्ता जघन्य प्रकृतिका अपराधका घटना पनि बढेको छ । समाजमा देखिएको खुलापन र पछिल्लो समय सामाजिक संजालको प्रयोगले अपराधका घटना बढ्दै गएको देखिन्छ ।
अपराधको घटना बढ्दै गएकाले शान्ति सुरक्षामाथी प्रश्न उठेको छ । अर्कोतर्फ अपराधका घटना न्यूनीकरण गर्न सरकारले चेतानामूलक कार्यक्रम संचालन गरेपनि प्रभावकारी देखिएको छैन ।