फूलमाया आले
काठमाडौं, १० असार । चालु आर्थिक बर्ष सकिन केही दिन मात्र बाँकी छ । यस बर्ष पनि अघिल्ला आर्थिक बर्षमा झैं अन्तिम समयमा आएर विकास बजेट सक्ने चटारो बढेको छ । चालु आर्थिक बर्षको असार १० गते सम्म करिब ५० प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । बाँकी बजेट फ्रिज हुन नदिन विकासे आयोजनाहरु धमाधम काम गरिहेको नाटक गरिरहेका छन् ।
बर्षभरी काम नगरी बस्ने र आर्थिक बर्ष सकिनै लाग्दा बजेटसक्नैका लागि काम देखाउने प्रबृति यस बर्ष पनि दोहोरिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक बर्षको पुँजीगततर्फ कुल ३ खर्ब ३५ अर्ब बजेट मध्ये असार १० गतेसम्म १ खर्ब ६९ अर्ब अर्थात ५० दशमलव ५८ प्रतिशत मात्र खर्च भएको छ । अझै करिब ५० प्रतिशत बजेट खर्च हुन बाँकी छ ।
चालु आर्थिक बर्ष सकिन २२ दिन मात्र बाँकी रहँदा विकासे योजनाहरु बजेट सक्नका लागि मध्य बर्षामा धमाधम काम गरिरहेका छन् । बर्ष भरी कानमा तेल हालेर बसेकाहरु असार लागेसँगै कतै बाटो कालोपत्रे गरिँदै भने कतै भएको कालोपत्रे उप्काएर ढल खनिदै छ । अहिले रातदिन नभनी चौबीसै घण्टा काम भइरहेको छ । चालू आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा छुट्टाइएको बजेटबाट दिनकै अर्बौं रुपैयाँ खर्च भइरहेको छ । असारे विकासको क्रम नरोकिएको विषयमा सडक विभाग भने टेण्डर प्रक्रियानै ढिला भएको कारण विकासका काममा ढिलाइ भएको तर्क गर्छ ।
विज्ञहरु भने विनियोजन पद्धतिमा सुधार र वित्तिय अनुसाशनमा बस्ने प्रक्रियाको विकास नभएसम्म यो प्रक्रिया नरोकिने बताउँछन् । विकास गर्ने पद्धति नै ठीक नभएका कारण यस्तो समस्या आएको उनीहरुको भनाई छ ।
सरकारले बजेट विनियोजन गर्दा रकमसँगै काम गर्ने संस्था, कर्मचारी, प्रक्रिया सबैलाई एकसाथ निकासा गरे यस्तो समस्या हट्ने विज्ञको भनाइ छ । न कुनै योजना छ, न कुनै समन्वय छ, न कुनै अनुगमन र निरीक्षण छ । जसरी हुन्छ राज्यको बजेट सक्ने गरी मात्र काम गरिँदा कहिल्यै विकासको लक्ष्य पुरा नहुने विज्ञहरुको भनाइ छ । यस्तो प्रवृति कहिलेसम्म ?