डोटी, ९ असार । डोटी जाने क्रममा दिपायल पुग्नुभन्दा करिव ७ किमि वरै सडकभन्दा माथि देखिन्छ, टलक्क टल्किरहेको मन्दिर । जसको नाम हो–सालमुनि । भागेश्वर र कर्पौदीका अंगरक्षकका रूपमा मानिएका मन्दिरका पुजारी छन् गन्धर्वहरू । मन्दिर हातामा पुग्दा देखिन्छन्– हातमा टीकाको थाल बोकेका पुजारी।
सालमुनि देवताबारे बुझ्दै जाँदा सुनिन्छन्, कयौं कुरा । कर्पौदी सालमुनि देवस्थल सेवा समितिका अध्यक्ष गोरख बोगटी भन्छन्, ‘पहिले सालमुनि नजिक पुग्दा पूरै क्षेत्रमा यात्रुहरू जुत्ता फुकालेर हातमा बोकी हिँड्थे । सालमुनिको क्षेत्र सिद्धिएपछि मात्र खुट्टामा जुत्ता लगाउँथें ।’मनोकामना पूर्ण होस् भनेर सालमुनिको भाकल गर्छन् मान्छेहरु । सालमुनिमा दिनहुँ एक सय ५० बोकाको बलि दिइन्छ । त्यो त मन्दिरमै ल्याइएका बोकाको संख्या हो ।
गाउँगाउँबाट दिशा लगाएर सालमुनिमा कति बोका काटिए त्यो संख्या यकिन गर्न सकिँदैन । दिशा लाउनु भनेको टाढाबाट सालमुनि मन्दिर देखिने वा मन्दिर रहेको डाँडो देखिने ठाउँनेर गएर सालमुनिका नाममा बोका काट्नु हो ।डोटी, जिल्लाका प्रत्येक गाउँमा छन्, सालमुनि दिशा लाउने ठाउँ । यसरी काटिएका बोकाको मासु खाँदा नुन पुगेन, राम्ररी पाकेको छैन जस्तो केही गुनासो गर्न पाइँदैन भन्ने मान्यता छ । मिठो मानेर तारिफ गरेर खानुपर्छ । नत्र देउता खुसी नहुने र पुनः बलि दिनुपर्ने मान्यता छ।
सुरुमा मन्नो पार्कीले (विश्वकर्मा) पुज्थे रे सालमुनि । उनका सन्तति नहुँदा उनको मृत्यपश्चात् गन्धर्वहरूले आ–अफ्नै ढंगले पूजा गर्न थाले । कहिलेकाहिँ दमाइले पनि पुज्थे रे ।त्यतिबेला कुनै ‘मलित’का घरमा पानी वा शितले भिजेका र राम्ररी नसुकेका दाउरा बाल्दा धुवाँको मुस्लो उडेपछि भनिन्थ्यो– कुनचाहिँ दलितलाई छोएर छोइछिटो नहाली घरभित्र पसेछ र यस्तो धुवाँ भयो । यो भनाइ नै काफी थियो– दलितलाई कति भेदभावपूर्ण दृष्टिले हेरिन्थ्यो भन्ने बुझ्न।
पछिल्ला दिनहरूमा केही सुधार भए पनि दलितप्रतिको भेदभाव पूर्ण रूपले निर्मूल भने हुन सकेको छैन । यसका लागि अझै वर्षौ कुर्नुपर्ने देखिन्छ । पैसा तिरेर पनि होटलमा दूधको चिया दिइँदैनथ्यो । यहाँका दलितभित्रै पनि छुवाछुत देखिन्छ । गन्धर्व (जसलाई सुदूरपश्चिममा ‘भाँण’ भनिन्छ) जातिले छोएको पानी मलितले त चलाएका थिएनन् नै, अन्य दलित समुदायकाले चलाएका थिएनन् । र, छैनन् पनि । तिनै गन्धर्वहरूबारे अध्ययन गर्दै जाँदा भेटिन्छन् धेरै कुरा ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।