काठमाडाैं, १ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको कालोपत्रे दशकौँ बर्ष पुरानो भइसक्यो । अहिले विमान अवतरण तथा उडानको चापले यो धावनमार्ग थप जिर्ण बन्दै गएको छ । जिर्ण पनि यति जिर्ण बनेको छ की घाम पानीको मिश्रणले कालोपत्र विमानको चक्कासंगै टाँस्सीएर उप्कीने गरेको छ ।
यसरी कालोपत्रे उप्कीएपछि आकाशमै जहाज होल्ड गराएर हतार हतार टालटुल पारेर जहाज अवतरण गर्ने गरिएको छ । सुन्दै चटक जस्तो लाग्छ हाम्रो विमानस्थलको कर्मचारीको दैनिकी ।
यही समस्या देखिएपछि समाधानका लागि पैसा जुटाउने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेश उड्ने नेपाली देखि सवै यात्रुबाट प्रति यात्रु एक हजारको दरले पैसा उठाउँदै आएको छ । यसरी पैसा उठाउन थालेको ४ बर्ष भइसक्यो ।
यसरी संकलन हुने पैसा विमानस्थल विकास कोषमा जम्मा गर्ने गरिएको छ । कोषमा अहिलेसम्म ७ अर्व २३ करोड रुपैयाँ संकलन भइसकेको छ । अझै एक बर्ष यसरी नै यात्रुबाट शुल्क उठाउने नागरिक उड्यन प्राधिकरणको योजना छ ।
यत्रो रकम संकलन भइसक्दा पनि प्राधिकरणले विमानस्थल सुधारमा माखो मार्न सकेको छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा दिनदिनै जहाज थपएिका छन्, यात्रुको चाप बढेको बढ्यै छ । तर सरोकारवाला निकाय सर्वसाधरणबाट पैसा उठाउन र ढुकुटीमा थन्क्याउन मात्रै मग्न छ ।
पहिले कालोपत्रेको जिम्मेवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत इन्जीनियरिङ महाशाखालाई दिएको थियो । तर धन देखेपछी महादेवको पनि तीन नेत्र भनेजस्तो विमानस्थल सुधारको योजनामा मन्त्री देखि हाकिमहरुको आँखा पनि चहकिलो भयो । चहकिलो पनि यत्ति विघ्न की ३ अर्वको योजना नै तितरवितर हुन पुग्यो ।
अहिले विमानस्थलको सुधारको जिम्मेवारी इन्जीनियरिङ महाशाखाबाट थुतिएर हवाइ यातायात क्षमता अभिबृद्धी आयोजनामा पुगेको छ । विमानस्थलमा कुनै सुधारको काम नभएको पाइएपछि माउन्टेनको टोली सिनामंगलमा रहेको यातायात क्षमता अभिबृद्धी आयोजनाको कार्यलयका प्रमुख बाबुराम पौड्याल समक्ष पुगेको थियो ।
टोलीले उनीसंग विमानस्थल क्षमता अविबृद्धीको कामको प्रगतिबारेमा सोधेको थियो । तर उनी मिडियासंग यसरी भागे की उनले ठूलै काम विगारेका छन् । मिडियामा बोल्न मिल्दैन भन्दै उनी ढोका थुनेर बसे ।
हेर्नुस् भिडियो :