काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा संगठनहरु युवा संघ नेपाल र वाइसिएल नेपालले एक हप्ताभित्र एकीकरण प्रक्रियालाई अन्तिम रुप दिने तयारी गरेको छ ।
तत्कालीन नेकपा एमालेको युवा संघ नेपाल र तत्कालीन माओवादी केन्द्रको वाईसिएल नेपालको एकता कार्यदलको बिहिबार बसेको बैठकले दुई संगठनबीचको एकीकरण प्रक्रियालाई एक हप्ता भित्र टुंग्याउने गरी आन्तरिक छलफललाई तीव्रता दिने निर्णय गरेको हो ।
कार्यदल बैठकमा एकीकृत संगठनको नाम, विधान र सांगठानिक संरचनाको विषयमा छलफल सुरु गरिएको छ । अध्यक्ष शिखाले संगठनको भावी दिशा भने मुलुकको समृद्धि र रोजगारीको अवसर सृजना गर्नका लागि सरकारलाई सक्दो सहयोग गर्ने दिशामा केन्द्रित हुने निष्कर्ष निकालिएको बताए ।