काठमाडौं, २६ जेठ । नेपालमा यस वर्ष गत वर्षभन्दा चार दिनअघि नै मनसुन प्रवेश गरेको छ । मनसुन केही दिनभित्रै देशैभर फैलिने मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार नेपालको पूर्वीभेगबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतर्फ सर्ने क्रममा रहेको छ ।
नेपालमा औसत रूपमा जुन १० मा मनसुन भित्रने गर्छ । गत वर्ष जुन १२ मा मात्र मनसुन सुरु भएको थियो । यस वर्ष जुन ८ मै मनसुन प्रवेश गरेको मौसमविदले बताएका छन् ।
मौसम विदका अनुसार मनसुन केही दिन भित्र नेपालभर फैलिने छ । नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ ।
उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८ सय ५ मिलिमिटर वर्षा हुने गर्दछ । यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भू–भागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९ सय ५ देखि १ हजार १ सय ५ मिलिमिटरसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ ।
सो भन्दा कम र बढी वर्षा भएमा क्रमशः न्युन वा अधिक वर्षा भएको मानिन्छ । भारतको दक्षिणी भेगका केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा सुरू भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसकोे प्रभाव नेपालमा छिट्टै देखिएको हो ।
भारतको केरलामा जुन १ मा मनसुन भित्रिने गरेकोमा यस वर्ष २७ मे मा नै मनसुन भित्रिएको थियो । महाशाखाका अनुसार हिन्द महासागरमा विकास हुने मनसुनी गतिविधि बंगालको खाडी हुँदै दक्षिण भारतमा फैलिन्छ ।
त्यसपछि क्रमशः म्यानमार, भारतकै कलकत्ता, सिक्किम, बंगलादेश हुँदै नेपालको पूर्वी भेग ताप्लेजुङ विन्दुबाट नेपालमा मनसुन भित्रिन्छ । सन् २००८ मा १० जुनमा भित्रिएको मनसुन १७ अक्टोबरमा बाहिरीएको थियो भने सन २००९ मा करिव दुई साता ढिलो गरी २३ जुनमा सुरु भएको मनसुन १५ अक्टोबरमा बाहिरिएको थियो ।
यस्तै सन् २०१० मा १७ जुनमा नेपाल प्रवेश गरेको मनसुन १ अक्टोबरमा बाहिरिएको थियो । सन् २०११ मा १५ जुनमा प्रवेश गरेको मनसुन ७ अक्टोबरमा नेपालबाट बाहिरिएको थियो ।
यस्तै सन् २०१२ मा १६ जुनमा प्रवेश गरेको मनसुन औसतभन्दा एक महिना ढिलो गरी २८ अक्टोबरमा बाहिरिएको थियो । यसैगरी नेपालमा सन् २०१३ मा १४ जुनमा भित्रिएको मनसुन १९ अक्टोबरमा बाहिरिएको थियो भने सन् २०१४ मा २० जुनमा नेपाल प्रवेश गरेको मनसुन ७ अक्टोबरमा बाहिरिएको थियो ।
यसै गरी सन् २०१५ मा १३ जुनमा नेपाल प्रवेश गरेको मनसुन ३ अक्टोबरमा बाहिरिएको थियो । यसैगरी सन् २०१६ मा १५ जुनमा प्रवेश गरेको मनसुन १२ अक्टोबरमा बाहिरिएको थियो ।
यस्तै गत वर्ष १२ जुनमा नेपाल प्रवेश गरेको मनसुन १६ अक्टोबरमा बाहिरिएको थियो । औसतरुपमा नेपालबाट २३ सेप्टेम्बरमा मनसुन बाहिरिने गरेपनि पछिल्ला वर्षहरुमा मनसुन धेरै पछिसम्म सक्रिय हुने गरेको छ ।