धूवाँ फ्याँक्ने सवारीलाई रोक

काठमाडौं, १२ जेठ । सरकारले आगामी साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ। अत्यधिक धूवाँ फ्याँक्ने सवारीसाधनका कारण नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले साउन १ गतेबाट धूवाँ फ्याँक्ने गाडीलाई नियन्त्रण गर्न लागेको हो। सवारीसाधनबाट निस्किने धूवाँका कारण वायु प्रदूषण हुनुका साथै नागरिककै स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले रोक लगाउने योजना यातायात व्यवस्था विभागले अगाडि बढाएको छ।

यातायात व्यवस्था विभागले धूवाँ परीक्षण गरिएको हरियो स्टिरक टाँसिएको सवारीसाधनलाई मात्र सञ्चालन गर्ने दिने नियम लागू गर्न लागेको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले बताउनुभयो। उहाँका अनुसार आगामी साउन १ गतेबाट सबै ६ महानगरपालिका, ११ उपमहानगरपालिका र काठमाडौं उपत्यकामा धूवाँ फ्याँक्ने सवारीसाधन रोक लगाउन लागिएको हो।

विभागले डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनको धूवाँ परीक्षण गर्न ४० वटा अटोमेटिभ एक्सहन्ट ग्यास एनालाइजर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ।

मेसिन खरिद भएपछि सबै महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं उत्पयकामा रहेको यातायात कार्यालयमा जडान हुनेछ। आधुनिक मेसिनबाट सवारीसाधनको धूवाँ परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी भए हरियो स्टिकर नदिने तयारी विभागले गरेको छ। मेसिनको सञ्चालन यातायात कार्यालयका मेकानिकले गर्नेछन्।

यातायात व्यवस्था विभागले यातायात कार्यालयमार्फत सवारीसाधनको धूवाँ परीक्षण गर्न २० वटा डिजेल र २० वटा पेट्रोलका गरी ४० वटा मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ।

समय–समयमा सवारीसाधन सर्भिसिङ नगरी चलाउँदा धूवाँ फ्याँक्ने अवस्थाको अब अन्त्य हुने भएको छ। विभागका प्रवक्ता अर्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो,‘छ÷छ महिनामा सवारी साधनको चेकजाँच हुन्छ, तोकिएको मापदण्डभन्दा बढी धुवाँ फ्याक्ने सवारी साधनले हरियो स्टिकर पाउँदैनन्।’ उहाँका अनुसार तोकिएको भन्दा बढी धूवाँ फ्याँक्ने सवारीसाधनलाई कानुनअनुसार कारबाही गरिनेछ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

Share

This website uses cookies.