काठमाठौं, २४ वैशाख । सिन्डिकेट अन्त्य गर्ने सरकारसँग सहमति गरेका यातायात व्यवसायीहरुले गाडी दुर्घटनामा परे उपचार खर्च नव्यहोर्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले यातायात समितिहरुको बैैंक खाता रोक्का भएकाले गाडी दुर्घटना भए यात्रुहरुको उपचार गर्न नसकिने बताएका हुन् ।
सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आफूहरुको काउन्टर बसपार्कबाट हटाउने काम गरिएकोमा आक्रोश पोख्दै उनले अब सडकबाट सेवा सुचारु गर्ने चेतावनी दिए ।
अध्यक्ष कर्माचार्यले विकल्पविना नै सरकारले लिएको निर्णयबाट सर्वसाधारणले सास्ती व्यहोर्नुपर्ने अवस्था आएको बताए । उनले आफूहरुको २ लाख गाडी र त्यसमा आवद्ध मजदुरहरुको व्यवस्थापन तत्काल गर्न पनि सरकारसँग माग गरे ।
महासंघले बसपार्कबाट समितिहरुको टिकट काउन्टर हटाउने निर्णयबाट पर्न गएको असुविधाको जिम्मेवारी सरकार आफैले लिनुपर्ने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले यातायात क्षेत्रको सुधारका लागि आवश्यक कदम तत्काल चाल्ने प्रतिवद्धता व्यक्त गरे ।