काठमाडौं, २२ बैशाख । सरकार आक्रामकरुपमा प्रस्तुत भएपछि यातायात व्यावसायीहरुले आफ्ना बस ग्यारेजबाट निकालेका छन् । सरकारले सार्वजनिक यातायात बन्द गरेको भन्दै देशका विभिन्न स्थानबाट ७३ जना व्यावसायीलाई पक्राउ गरी मुद्दा दायर गर्ने तयारी गरेपछि व्यावसायीहरुले आफ्ना बस ग्यारेजबाट निकालेर गुडाउन थालेका हुन् ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले विज्ञप्ति निकालेर बस सञ्चालन गर्न व्यावासीहरुसँग आग्रह गरेको थियो । सरकारले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने र गरे रुट परमिट निलम्बन गर्ने चेतावनी दिएपछि व्यावसायीहरुले बस सञ्चालन गरेका हुन् । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले शुक्रबार बस बन्द गरेको र प्रत्युत्तरमा सरकारले व्यावसायीलाई पक्राउ गरेको विषयमा छलफलका लागि आज समीक्षा बैठक बोलाएको छ ।
बैठकमा पक्राउ परेका व्यावसायीको रिहाइका लागि अवलम्बन गर्ने उपाय र वैशाख २७ गतेदेखि गर्ने भनिएको अनिश्चितकालीन सार्वजनिक यातायात बन्दको कार्यक्रममा केन्द्रीत रहेर छलफल हुने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।
गृह मन्त्रालयले पक्राउ परेका ७३ जना यातायात व्यावसायीविरुद्ध आवश्यक सेवा ऐन र स्थानीय प्रशासन ऐन अनुसार मुद्दा चलाउने तयारी गरेको छ । आवश्यक सेवा ऐन अनुसार पक्राउ परेका व्यावसायीमाथि एक वर्षसम्मको कैद सजाय हुन सक्छ ।