महोत्तरी, ८ बैशाख । बर्दिबासबाट २० किलोमिटर जंगलको बाटो हिँडेपछि पुगिन्छ महोत्तरीको विकट गाउँ खयरमारा। खयरमाराका ३२ वर्षीय किशोर पौडेल र ३१ वर्षीय गोपी श्रेष्ठले धेरैजसो समय गाईको स्याहारसुसारमा बिताउँछन्। उनीहरूले सम्युक्त लगानीमा गाईपालन सुरु गरेका हुन्। राधाकृष्ण गाई फर्म स्थापनापछि दूध बिक्री गरेर भएको आम्दानीले अहिले उनीहरू सन्तुष्ट छन्।
समाजशास्त्रमा स्नातकोत्तर गरेका किशोर ६ वर्षअघि काठमाडौंबाट गाउँ फर्किए। गाउँलाई कृषिमा आत्मनिभर बनाउन उनले किसानलाई संगठित गरे। राधाकृष्ण बचत तथा सहकारी संस्था खोले। तीन वर्षसम्म सहकारीको व्यवस्थापक भएर काम गरे।
सहरकारीबाट बचेको समय कक्षा १० सम्म पढेका गाउँकै साथी गोपीसँग मिलेर उनले किसानबाट दूध संकलन गरेर बजार पठाउन थाले। दैनिक तीन सय लिटर दूध संकलन गरेर बजार पठाउँदा उनलाई सोचेभन्दा राम्रो फाइदा भयो। उनले दूध उत्पादनका लागि गाई पाल्ने सपना देख्न थाले।
खयरमाराका गाईभैंसीपालक किसानले उत्पादन गरेको दूध बिक्री नभएको समयमा जोखिम मोलेर उनले गाउँमै दूध डेरी सञ्चालन गरे। किसानलाई गाईभैंसीपालनमा सहयोग गरे। संकलित दूध उनले जानकी डेरी उद्योग जनकपुरसम्म पुर्याए। यातायात, सडक, खानेपानी, भौतिक पूर्वाधारबाट पछि परेको चुरेको काँखमा अवस्थित खयरमाराका किसानको दिनचर्या गाई भैंसीपालनले फेरिन थाल्यो। किसानको मन जितेर उनी सबैका लागि उदाहरण पनि बने। पछि आफ्नै गाई फार्म सञ्चालन गर्ने योजना बनाए।
जीवन विकास नामक संस्था दर्ता गरेर उनले २०७२ सालमा पाँच लाख ऋण लिए। किशोर र गोपीले सहकारीमा बचत गरेको र साथीभाइसँग ऋण धन गरेर सात लाख जुटाई गोठ गाई गोठ बनाए। बाराको डुमरबन्नाबाट ‘होलेस्टेन’जातका पाँचवटा गाई र उन्नत जातका तीनवटा भैंसी किनेर ल्याए।
तीस कठ्ठा जमिन वार्षिक तीस हजारमा ठेक्कामा लिए र सुरु गरे आफ्नै गाई फर्म। दुई वर्ष अघिदेखि सुरु गरेको गाई फर्ममा अहिले २१ वटा गाई, एउटा भैंसी, १३ वटा बाच्छी, दुईवटा बाच्छा गरेर ३७ वटा वस्तुभाउ छन्।
उनको फर्मबाट दैनिक ६० लिटर दूध उत्पादन हुन्छ। कृषि विकास बैंक बर्दिबासबाट उनले ११ लाख ऋण पाएका छन्। फर्मलाई विस्तार गर्न सफल भएका छन्।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।