काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले सिंहदरबारको अधिकार गाउँ पुगेको अनुभूती हुनेगरी काम गर्न स्थानीय तहका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
शनिबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वले सिंहदरबारको अधिकार गाउँ पुग्यो कि पुगेन भनी बिचार गर्नुपर्ने बताए ।
राज्यले अधिकार बाँडफाँडको नयाँ अभ्यास गरेको भन्दै उनले यसलाई सफल बनाएर संघीयताको बारेमा सकारात्मक सन्देश जानुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचार, कुशासन जस्ता कुराबाट टाढा रहन आग्रह समेत गरे । उनले स्थानीय तहमा भएको कर्मचारीको अभाव चाँडै पुरा गरिने आश्वासन दिए । सरकारले कर्मचारी समायोजनको काम अघि बढाइ सकेकाले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने उनको भनाइ छ ।