८ औं स्मृति दिवसमा गिरिजा प्रसादको स्मरण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

८ औं स्मृति दिवसमा गिरिजा प्रसादको स्मरण

काठमाडौं, ७ चैत । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले गणतन्त्र स्थापनाका लागि दिनु भएको योगदानको विभिन्न राजनीतिक दलका नेताहरुले स्मरण गरेका छन् ।

कोइरालाको ८ औं स्मृति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सत्तारुढ एमाले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले कोइरालाले देखाएको बाटोमा अघि बढे मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखेका छन् ।

एमाले वरिष्ठ नेता नेपालले गणतन्त्रमा जाने पार्टी भित्र निर्णय गर्ने कोइरालाको निर्णय महत्वपूर्ण भएको चर्चा गरे । उनले कोइरालाकै नेतृत्वमा मुलुकमा राजतन्त्र फाल्न सम्भव भएको बताए ।

काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले स्वर्गिय कोईरालाको सपना पूरा गर्नका लागि सँधै दलहरु सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए । उनले सहमति, सहकार्य र एकताका आधारमा अगाडि नबढ्ने हो भने देश द्वन्दमा जाने चेतावनी दिए ।

कोईराला गणतन्त्रको पक्षमा नउभिएको भए देशमा गणतन्त्र आउन नसक्ने माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए । उनले सशस्त्र संघर्ष गरिरहेका शक्तिसँग मिलेर गणतन्त्रका लागि संयुक्त मोर्चा बनाउने कोइरालाको निर्णय विश्वमै नौलो ईतिहास भएको पनि स्मरण गरे ।

कोइरालाकै नेतृत्वमा तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिक मूल धारमा ल्याउने काम भएको थियो । कोइरालाले गणतन्त्र स्थापनाका लागि दिएको नेतृत्व मुलुकको राजनीतिक इतिहासकै महत्वपूर्ण कदमको रुपमा लिइन्छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);