एजेन्सी,२५ माघ । अमेरिकामा सरकारी खर्च समाप्त हुने अघिल्लो दिन रिपब्लिकन र डेमोक्र्याट नेताहरूले बजेट विधेयकमा दुई दलीय सहमति गरेका छन् । दुई पार्टीबीचको सहमतिमा रिपब्लिकन सिनेट नेता मिच म्याक्कनल र डेमोक्र्याटिक पार्टीका नेता चक सुमरले हस्ताक्षर गरेका छन ।
सरकारसँग खर्च गर्न पैसा नहुने अर्को अवस्था आइलाग्ने ठीक अघिल्लो दिन दुई वर्षे बजेटमा यो सहमति भएको हो । सिनेटमा उक्त विधेयक सजिलै पारित हुने ठानिएको छ । तर तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा भने खर्च अरबौं डलरले बढाइँदा राष्ट्रिय घाटा झन् बढ्ने चिन्तासहित विधेयकको विरोध हुने अनुमान गरिएको छ । कंग्रेसका कतिपय डेमोक्र्याट र रिपब्लिकन नेताहरूले दुई दलीय सहमतिको विरोध गरेका छन् ।
ह्वाइट हाउसका अनुसार विधेयकमा सरकारी खर्च ३ सय अर्ब डलरले बढाउन प्रस्ताव गरिएको छ । रक्षा खर्च पहिलो वर्ष ८० अर्बले र दोश्रो वर्ष ८५ अर्ब डलरले बढाउन तथा बालबालिकाका लागि स्वास्थ्य बिमा जस्ता गैरसैनिक खर्च यो वर्ष ६३ अर्ब र अर्को वर्ष ६८ अर्ब डलर प्रस्ताव गरिएको बताइएको छ ।