देश/समाज

चौतर्फी विरोध भएपछि तीन दिनसम्म हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय

२०८१,०६,१३
विपत्तिको समयमा भाडा बढाएको भन्दै चौतर्फी विरोध भएपछि विमान कम्पनीहरूले आउँदो तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायु सेवा सञ्चालक सङ्घको आजको बैठकले अधिकतम मूल्य नलिने निर्णय गरेको हो । भोलि सोमवार, पर्सि मङ्गलवार र बुधवारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको सङ्घका अध्यक्ष मनोज कार्कीले जानकारी दिए ।

हवाई भाडा महँगो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए ।अहिले काठमाण्डौ आउने मुख्य सडकमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वाभाविक रूपमा बढेको छ ।

काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने सबै सडक बन्द भएकाले अत्यावश्यक काम परेकाहरू हवाई यात्रा गर्न बाध्य छन् ।बाढीपहिरोको कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भइरहेको बेला एयरलाइन्सले महँगो शुल्क लिन नहुने माग सर्वासधारणको छ ।

Related Post
Share

This website uses cookies.