नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधव कुमार नेपाल’ पुस्तक विमोचन समारोहमा नेता नेपालले जीवनका कुराहरु राम्रोसँग नोट नगरे जीवनसँगै सकिने र अर्को पुस्ताका लागि जानकारी पाउन कठिन बन्ने बताउनु भयो ।
उहाँले सबैले इतिहासका भोगाइहरुलाई टिपेर राख्न सुझाव दिनुभयो । उहाँले छिटै नै नकेपा विभाजन र नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणको बारेमा लेखिएको पुस्तक आउन लागेको भन्दै त्यसबाट पार्टी विभाजन र पार्टी निर्माणको बारेमा सबै स्पष्ट हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानलाई बचाएर लैजानुपर्ने आवश्यकता औल्याउनु भयो । उहाँले अहिलेको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, संघीयता सहितको र समावेशी तथा समानुपातिक रहेको भन्दै यसको संस्थागत विकासमा सबै नेपालीको जिम्मेवारी हुनु पर्ने उल्लेख गर्नुभयो
संसद विघटनको प्रसंग इंगित गर्दै यादवले संविधान नै सकिने अवस्थाबाट जोगाउन नेकपा एसका अध्यक्ष माधव नेपालले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।
प्रथम राष्ट्रपति यादवले आगामी दिनमा पनि झनै राम्रा काम गर्दै अघि बढ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभयो ।
०००