किशन भण्डारी
काठमाडौं, ११ माघ । गत महिना पाकिस्तानमा एकदिवसीय नेत्रहीन विश्वकप खेलेर फर्किएको नेपाली टोलीले राज्य खेलाडीप्रति उदार नभएको गुनासो गरेका छन् । स्वदेश फर्किएको करिब एक महिनापछि टोलीका व्यवस्थापक एवं खेलाडीहरुले सरकार उदार नभएकै कारण अर्काको देश पुगेर आफूहरुले सास्ती र मानसिक तनाव झेल्नु परेको बताएका छन् ।
नेत्रहीन क्रिकेट टोलीका व्यवस्थापक एवं खेलाडीको मन प्रतियोगिताका लागि प्रस्थान गर्दै गर्दा नै खिन्न थियो । किनकी, प्रतियोगितामा भाग लिन जानुअघि उनीहरुले १४ लाख रुपैयाँ सरकारसँग माग गरेका थिए । तर, राज्यबाट ४ लाख रुपैयाँमात्र पाए । अर्काको मुलुक पुगिसकेपछि उनीहरुले आर्थिक अभावमा अत्यन्तै कष्ट झेल्नुपर्यो ।
नेपालको प्रतिनिधित्व गरी पाकिस्तान र यूएई पुगेको दृष्टिविहीन टोलीले जितका लागि भन्दा बाँच्न र खेल्ने ठाउँसम्म पुग्नका लागि नै संघर्ष गर्नुपर्यो । दृष्टिविहीन क्रिकेटर सम्झन्छन्, ‘मुलपानीमा प्रशिक्षण लिँदा चोटपटक लाग्दासमेत सरकारले नेत्रहीन क्रिकेटरलाई बेवास्ता गर्यो ।’ देशका नाम चिनाउन भनेर हिँडेका खेलाडीलाई यस्ता कुराले बिझाएको थियो । एक अर्थमा उनीहरु उपेक्षित महशुस गरिरहेका थिए ।
खेलाडिले दुःख पाएको जगजाहेर हुँदा समेत राष्ट्रिय खेलकुद परिषद भने अझै बहाना बनाइरहेको छ । राखेपका सदस्यसचिव केशवकुमार विष्ट खेलाडिलाई चाहिएजति सबै सेवा सुविधा दिन कुनै कसर बाँकी नराखेको दाबी गर्छन । तर, दृष्टिबिहिन क्रिकेट टोलीलाई सहमति अनुसार नै चार लाख रुपैयाँ उपलब्ध गराएको विष्टको दाबी छ ।
नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन खेलाडीहरुको योगदान उच्च रहेको कुरा सर्वस्वीकार्य छ । तर, तीनै खेलाडीप्रति राज्य उदार हुन नसकेको गुनासो खेलाडीहरुबाट बारम्बार आइरहेको छ । यसप्रति राज्य गम्भीर नहुनु बिडम्बना हो ।