काठमाडौं,१५ माघ । त्रिभुवन विश्वविद्यालय त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आजदेखि सेवा अनलाइनबाटै दिने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइबाटै लिन सकिने छ । कार्यालयका अनुसार यो सेवा आज बिहान १० बजेदेखि सञ्चालन हुनेछ।
केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ।
अनलाइन प्रक्रियाका लागि टियुएक्जाम डट इडियु डट एनपीमा लगइन गरी सर्टिफिकेट लिंकमा क्लिक गरेपछि साइनअप गर्नुपर्छ । त्यसपछि सेवाग्राहीले कार्यालयले मागे सूचना विवरण उपलब्ध गराउनुपर्ने छ । सूचना अपूर्ण वा गलत भएमा सम्बन्धित विद्यार्थीलाई जानकारी गराइने र पुनः अपलोड गर्न सक्ने व्यवस्था हुने कार्यालयले जनाएको छ ।
अनलाइन सेवा नहुँदा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु सेवा लिन दिनभर लाइन लाग्नुपर्ने बाध्यता छ ।