काठमाडौं, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम जाँदै हुनुहुन्छ । जानकी मन्दिर दर्शन गर्ने यसअघिको स्थगित भएको कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल जनकपुरधाम जान लाग्नु भएको हो ।
साथै राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको पनि उद्घाटन गर्ने कार्यक्रम पनि छ । पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिले नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरेको छ ।
दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा यो कार्यक्रम आयोजना हुनेछ । सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा हुने नागरिक अभिनन्दनमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मधेश प्रदेश सभामा सभामुख रामचन्द्र मण्डल, राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखहरूको उपस्थितिहुने छ । २०५७ सालमै शिलान्यास भए पनि विभिन्न कारणवश थलिएको उक्त सांस्कृतिक केन्द्र २३ वर्षपछि उद्घाटन हुने भएको हो ।