राजनीति

दिवंगत नेम्वाङलाई श्रद्धाञ्जली दिनेको भिड

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।

पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पुगेका छन् ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो । नेम्वाङ गत सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो । नेता नेम्वाङले ३० हजार २० मत ल्याएर निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डम्बरबहादुर खड्का (२९ हजार ९ सय ६ मत) लाई पराजित गर्नुभएको थियो । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष÷सभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो । विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बन्नुभएका उहाँ त्यस लगत्तै पुनः राष्ट्रिय सभा सदस्य हुनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत हुनुहुन्थ्यो ।

 

Related Post
Share

This website uses cookies.