काठमाडौं । आइसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।
जारी खेलमा नेपालले बलिङमा राम्रो सुरुआत गरेको थियो । अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २०७ रन बनाएको हो ।
नेपालका लागि करण केसीले ४ विकेट लिए । साथै, गुल्शल झाँले ३ तथा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने ललित राजवशींले १ विकेट लिए ।
आजको खेलमा पनि लेग स्पीनर सन्दीप लामिछाने नेपालका लागि महंगा बलरको रुपमा देखिए । १० ओभर बलिङ गरेका लामिछानेले ५८ रन खर्चिदा विकेट विहिन बन्न पुगे ।
विश्वकप छनोटको पहिलो खेलमा पनि लामिछानेले खराब बलिङ गरेका थिए । जिम्बाबेसँगको खेलमा पनि उनले १० ओभरमा बल फाल्दा ७७ रन दिएका थिए । उक्त खेलमा पनि सन्दीपले विकेट लिन सकेका थिएनन् ।