काठमाडौं, २१ पुष । राष्ट्रियसभा निर्वाचन तथा प्रदेश प्रमुख नियुक्तिका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ ।
दलीय विवादले प्रदेश प्रमुख नियुक्त हुन नसकिरहेकाबेला राष्ट्रपतिले बिहीबार प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवसँग छलफल गर्नुभएको हो । राष्ट्रिपति भवन शितलनिवासमा भएको भेटमा राष्ट्रिपति भण्डारीले जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न निर्वाचनको मतपरिणाम संविधान र प्रचलित कानूनको मर्म र भावना अनुसार समयमै सम्बन्धित निकायमा पेश गर्नु उपयुक्त हुने सुझाव दिनुभयो ।
साथै उहाँले प्रदेश प्रमुखहरूको नियुक्ति नभइसकेको अवस्थामा प्रदेश सभाका सदस्यहरू निर्वाचित भएको विवरण बुझाउन तथा शपथ ग्रहण गराउनेसम्बन्धमा पनि जिज्ञासा राख्नुभएको थियो । भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेशसभा सदस्यको समानुपातिकतर्फको सिट बाँडफाँड गरी दलहरूले प्राप्त गरेको सिट तोक्ने कार्य सम्पन्न भई प्रचलित कानून अनुसार दोस्रो पटक बन्दसूचीलाई समावेशी समूह अनुरूप सच्याएर ल्याउन दलहरुलाई आजसम्मको समय दिएको जानकारी गराउनुभएको थियो ।
प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले प्राप्त गर्ने सिट संख्या तोकी दलहरूलाई पत्राचार गर्न संवैधानिक एवं कानुनी अड्चन देखिएको प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रपतिलाई जानकारी गराउनभएको थियो ।