टिप्पणी –
काठमाडाैं, २० पुस । निर्वाचनपछि देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि माओवादी केन्द्रको भूमिका प्रष्ट देखिएको छैन । निर्वाचनमा तेस्रो दलको हैसियत पाएको माओवादी केन्द्र अहिले पहिलो दल एमालेसँग वाम गठबन्धनमा सामेल छ भने अर्कोतिर सरकारमा पनि छ । तर, पछिल्लो समय देखिएको राजनीतिक गतिरोधबाट मुलुकलाई किनारा लगाउन उसले गम्भीर पहल भने गरेको देखिदैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र अहिले पनि छ । प्रधानमन्त्री देउवाले निर्वाचनअघि उसका सबै मन्त्रीलाई दिएको जिम्मेवारी खोसेपनि माओवादीका मन्त्रीहरुको विनाविभागीय हैसियत कायमै छ ।
अर्कोतिर माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर वाम गठबन्धन पनि बनाएको छ । अहिले सोही गठबन्धनको प्रमुख घटकका रुपमा पनि माओवादी केन्द्र नै छ । त्यसैले पनि माओवादी फेरि शक्तिशाली नै देखिन्छ । तर, निर्वाचनपछि सरकार गठन, संघीय संसदको पूर्णता जस्ता विषयमा देखिएको गाँठो फुकाउन माओवादीको भूमिका गौण देखिन्छ ।
निर्वाचन सम्पन्न भएको एक महिना बितिसकेको छ । गतिरोध लम्बिए नयाँ सरकार गठन हुन अझै कम्तीमा डेढ महिना लाग्ने निश्चित छ । तर, बढ्दो गतिरोध अन्त्य गर्न पहल गर्नुको साटो माओवादी केन्द्र आफैँ सम्मिलित सरकारले गरेका निर्णयको विरोध गर्नमै व्यस्त छ । न सरकार छाड्छ, न नयाँ सरकारको लागि प्रभावकारी पहल नै । आखिर किन ?