काठमाडौं, ८ वैशाख । यही वैशाख १० गते हुने उपनिर्वाचनको बारे मतपरिणाम प्रक्षेपण गरेको आरोपमा प्रेस काउन्सिल नेपालले सेतोपाटी डटकमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। सेतोपाटी अनलाइनले तनहुँ १, बारा २ र चितवन ३ को निर्वाचनको मतपरिणाम बुधबार प्रक्षेपण गरेको थियो ।
काउन्सिलले अनुगमनका क्रममा आचारसंहिताविपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेको उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अनुगमनका क्रममा कतिपय सञ्चारमाध्यमबाट चुनावी विश्लेषणका नाममा ‘‘राम्रो मतान्तरसहित जित्ने सम्भावना’, ‘‘अग्रता’ जस्ता शीर्षकमा स्थलगत अध्ययनको दाबी सहितका कुनै राजनीतिक दल र उम्मेदवारको पक्षपोषण हुनेगरी सामग्री सम्प्रेषण भएको पाइएपछि काउन्सिलले त्यस्ता सञ्चारमाध्यमलाई २४ घण्टे पत्र काटेको हो ।