काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पार्टी र पार्टीका नेतृत्वप्रति कटाक्ष गर्नुभएको छ ।
मंगलवारबाट काठमाडौंमा शुरु भएको नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका नेताहरुप्रति कटाक्ष गर्नुभएको हो । उहाँले त्याग गरेका नेताहरुको तुलनामा भर्खरै राजनीतिमा आएका नेताहरुको चर्चा बढी भइरहेको भन्दै राजनीतिमा टिकेर देखाउन सक्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब गर्ने कुराको महत्व हुन्छ, हिजो हामीले के गरेका थियौँ, त्यो इतिहास हो । इतिहासलाई बचाउने र त्यसलाई जीवन्त दिने कुरामा वर्तमानमा पनि त्यत्तिकै राख्नुपर्छ । आज त्यत्ति नेताहरुले चासो नदिएको जस्तो देखिन्छ । त्याग गरेका भन्दा भर्खरै हार्ईंफाईं गर्नेहरु नै बढी चर्चामा आउने गरेका छन् । कति टिक्नुहुन्छ, टिक्दा त राम्रो शुभकामना कति हुन्छ भविष्यले बताउँछ ।’
उहाँले बुद्धिचालका कारण मानिसहरुको दिमाग तेजिलो हुनेपनि बताउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओली जेलमा रहँदादेखि नै खेलहरुमा उत्कृष्ट रहेको भन्दै चेस खेलकै कारण अहिलेको राजनीतिक खेलाडी बनेको ठट्टा गर्नुभयो । उहाँले चेस खेलले मानिसको क्षमता विकास गर्ने भन्दै उहाँले राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चेस धेरै खेल्ने खेलाडी भएकाले नै जंगलदेखि संसद र सरकारसम्म पुग्नुको कारण हुनसक्ने बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चेस खेलेका कारण धेरै पटक प्रधानमन्त्री बन्नुभएको हुनसक्ने बताउनु भयो ।
अध्यक्ष तिमिल्सिनाले सरकारले चेस खेललाई धेरै महत्व नदिएकाले आगामी दिनमा महत्व दिन आग्रह गर्नुभयो । उहाँले चेस खेल नेपालको जनकपुरबाट उत्पत्ति भएको पनि बताउनु भयो ।