काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउने रणनीति लिएको छ । लैंगिक रुपले फरक र सामुदायिक फरक हुनुपर्ने पार्टीको धारणा रहेको महासचिव देव गुरुङले बताउनु भयो । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको बैठक बसेको थियो ।
उहाँले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताउनु भयो । उहाँले आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरुले पहल गर्नुपर्ने अभिव्यक्ति रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रुपले फरक र सामुदायिक फरक भन्ने छ । अभ्यास हामीले के बसाल्ने प्रक्रियाको शुरु गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ । नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो । हामीले परामर्श दिनुपर्दा लैंगिक रुपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ ।’
महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहीता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार बिस्तार हुने बताउनु भयो ।