काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको कार्यसम्पादन समिति गठन गर्ने र विभिन्न ४३ वटा विभाग गठन गर्ने निर्णय गरेको छ ।
पार्टी मुख्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकले कार्यसम्पादन समिति गठन गर्दै विभागहरुलाई पुर्णता दिने निर्णय गरेको हो । बैठकले कांग्रेसको विद्यमान विधानलाई संघीय ढाँचा अनुरुप परिमार्जन गर्ने तयारी समेत गरेको छ ।
बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले मधेसी मोर्चासँग भैरहेको वार्ता र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा सभापति शेरबहादुर देउवाले कार्यसम्पदान समिति गठन लगायतका विभिन्न छ वटा प्रस्ताव पेश गर्नुभएको छ ।
सभापति देउवाले कार्यसम्पादन समितिमा २९ जना केन्द्रीय सदस्यलाई मनोनीत गर्नुहुने छ । कांग्रेस विधानअनुसार पार्टी सभापतिले कार्यसम्पादन समितिका सदस्यहरुको नाम केन्द्रीय कार्यसमितिमा पेस गरेर अनुमोदन गर्नुपर्नेछ ।
यससँगै स्थानीय निर्वाचनका विषयमा बैठक केन्द्रीय हुने कांग्रेसले जनाएको छ । बैठकमा स्थानीय निकायको निर्वाचनका लागि घोषणापत्र निर्माण समिति, निर्वाचन परिचालन समिति र प्रचार प्रसार समिति गठन हुनेछ ।
गाउँपालिका र नगरपालिकाको नयाँ संरचनाअनुसार पार्टीको संरचना निर्माण गर्नेलगायतका विषयमा पनि छलफल भैरहेको छ ।
सभापति देउवाले प्रस्ताव पेश गरे लगत्तै केन्द्रीय सदस्यहरुको बोल्ने क्रम सुरु भएको छ । बैठक कम्तिमा दुई दिन चल्ने कांग्रेसले जनाउको छ ।