काठमाडौं, ११ पुस।एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्समाथि ४ विकेटको जित निकालेको छ ।
यससँगै भैरहवाले क्वालिफायरमा स्थान बनाएको छ भने पोखरा राइनोज अन्तिम खेलअघि नै इलिमिनेटर राउण्डमा पुगेको छ ।समूह चरणको सबै खेल जितेको विराटनगर वारियर्स समूहको शीर्ष स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा जितका लागि पाएको ८८ रनको सामान्य लक्ष्य भैरहवाले १८.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।
भैरहवाको जितमा पुनित मिश्रले २९ बलमा ३०, रोहित कुमार पौडेलले ४० बलमा २० र भुपेन्द्र थापाले १३ रनको योगदान दिए। चितवन टाइगर्सका सहाब आलम र दिपेन्द्रसिंह ऐरीले २/२ र प्रबिन गुप्ता र कमलसिंह ऐरीले १/१ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यसअघि टस हारेर पहिला ब्याटिङ् गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ ८७ रन बनाएको थियो।
चितवनका लागि दिपेन्दसिंह ऐरी र योगेन्द्रसिंह कार्कीले समान १५/१५ ललितसिंह भण्डारीले नटआउट १३, र आकाश थापाले ११ रनको योगदान दिएका थिए ।