काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताएका छन् ।
शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उहाँले आगामी सोमबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभयो ।
कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुखलगायतका पदमा के गर्ने भनेर ऊसँग पनि छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । एमालेसँग सहमति गर्दा कांग्रेस प्रतिपक्ष हुन्छ भन्ने कल्पना गरिए पनि कांग्रेसले समर्थन गरिसकेपछि आफ्नो पनि जिम्मेवारी थपिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै त्यसको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले मन्त्रिपरिषद् विस्तार केही दिनमा नै हुने भन्दै सत्ता साझेदार दलबीच कुनै समस्या नरहेको र सहमति नजिक पुगेको दाबी गर्नुभयो ।
अर्थतन्त्रलाई सहजीकरण गर्ने विषयमा केन्द्रित भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । निजी क्षेत्रमा अब केही हुन्छ भन्ने आत्मविश्वास जागेको भन्दै उहाँले केन्द्रीय मुद्दामा सहमति जुटाएपछि बल्ल चुनौति छिचोलिने उल्लेख गर्नुभयो ।