श्याम गुप्ता
बारा, २८ मंसिर । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत काठमाडौं–तराई द्रुतमार्ग बनाउने काममा नेपाली सेनाले तिब्रता दिएको छ । आयोजना निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएसँगै द्रुतमार्ग निर्माणले गति लिएको हो ।
लामो कसरतपछि नेपाली सेनाले जिम्मा पाएको काठमाडौं–तराई द्रुतमार्ग निर्माणले गति लिएको हाे । बाराको निजगढमा जोडिने फास्ट ट्रयाकको नेपाली सेनाले अहिले शिविर खडा गरि रुख कटान सुरु गरेको छ ।
झण्डै ६ हजार रुख कटान गर्नु पर्ने भए पनि अहिले १२ सय रुख कटान हुने छ । सडकका ट्रयाकलाई सफा गर्ने, सम्याउँने र मोडहरु मिलाउँने काम अन्तिम चरणमा पुगेको छ । सो आयोजना तोकिएकै समयमा सक्ने नेपाली सेनाले जनाएको छ ।
फास्ट ट्रयाक निर्माण अगाडि बढेसँगै तराई मधेसका सरोकारवाला र नागरिक उत्साहित भएका छन् । द्रुतमार्ग निर्माणले राष्ट्रिय अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने भन्दै सर्वसाधरणले नेपाली सेनालाई काम गर्ने सहज वातावरण बनाइदिन आग्रह गरेका छन् ।
आवश्यक दक्ष जनशक्ति बाहिरबाट ल्याएर काम गरिने सेनाले जनाएको छ । राष्ट्रिय गौरवका योजना अन्तरर्गत पर्ने सो योजनालाई चार वर्ष भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।