काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम राखेको छ ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि होडमा रहेको अर्को क्लब एथ्लेटिको मड्रिडलाई बार्सिलोनाले हरायो ।
बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा २–१ ले हराएको हो । बार्सिलोनाको जितमा राफिन्हा र लियोनल मेस्सीले गोल गरे ।
एथ्लेटिकोका लागि डिएगो गोडिनले एक गोल फर्काए । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ६४ औं मिनेटमा राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाए । ७० औं मिनेटमा एथ्लेटिकोका गोडिनले बराबरी गोल फर्काए ।
८६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को महत्वपूर्ण जित दिलाए । यो खेलमा बार्सिलोनाका लागि मेस्सीको गोल महत्वपूर्ण रह्यो । मेस्सीले ला लिगामा यो सिजन २१ खेलमा २० गोल गरेका छन् । जितपछि दोस्रो स्थानको बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ ।
एक खेल कम खेलको शीर्ष स्थानको रियल मड्रिडको ५५ अंक छ । २४ खेलबाट ४५ अंकसहित चौथो स्थानको एथ्लेटिको भने उपाधि होडबाट लगभग बाहिरिएको छ ।
सन् २०१४ को च्याम्पियन एथ्लेटिको मड्रिड अहिले शीर्ष स्थानको रियल मड्रिड भन्दा १० अंकले पछि छ । राति भएका अरु खेलमा एथ्लेटिको बिल्बाओले ग्रनाडालाई ३–१ तथा स्पानियोलले ओसासुनालाई ३–० ले हरायो । स्पोर्टिङ डि गिजोन र सेल्टा डि भिगोले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।