काठमाडौं, १४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिका लागि मिलेर अघि बढ्न राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् ।
निर्वाचनले मुलुकलाई नयाँ संरचनामा ढाल्ने भएकाले त्यसपछि मुलुकलाई विकासको पथमा लैजान सबै मिल्नुको विकल्प नरहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।
बिहीबार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उदघाटन गर्दै उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले व्यापारमार्फत् मुलुकको अर्थतन्त्र उकास्न नेपालका व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरेकी छन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक्स्पोमा अन्तराष्ट्रिय स्तरका क्रेता र विक्रेताको मिलन हुने र त्यसले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिने बताए ।
५ दिनसम्म चल्ने एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापान लगायतका देशको २ सय २५ वटा स्टल राखिएको छ ।