पोखरादेखि लेखनाथसम्मको बिजुली तार अन्डरग्राउन्ड गरिने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०७९, बुधवार

पोखरादेखि लेखनाथसम्मको बिजुली तार अन्डरग्राउन्ड गरिने

पोखरा । पोखरा देखि लेखनाथसम्मको बिजुलीको तार अव अन्डरग्राउन्ड गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा यहाँको तारलाई भूमिगत गर्न लागिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदेश सरकारसँगको भेटमा लेखनाथ सबस्टेसनबाट पोखरासम्मको बिजुली अन्डरग्राउन्ड गरिने जानकारी गराएका हुन् ।

त्यसका लागि पोखराको बिरौटामा अत्याधुनिक सवस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उनले प्रदेश सरकारसँग आग्रह गरेका छन् । अन्तका सबस्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपर्ने उनको भनाइ छ । यो सवस्टेसन निर्माण पछि पोखरामा बिजुली जाने समस्या समाधान हुने बताइएको छ ।

प्रदेश सरकारले प्राधिकरणसँगको समन्वयमा उज्यालो प्रदेश कार्यक्रम सञ्चालन गरिरहेको छ । यही आर्थिक वर्षभित्र उज्यालो प्रदेश घोषणाको कार्यक्रम गरिने सरकारले जनाएको छ । घिसिङले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई भेटेर उज्यालो प्रदेश घोषणा अभियानमा सघाउन प्राधिकरण तयार रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले अरू प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत् उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए । गण्डकी प्रदेशको मादी करिडोर, मोदी करिडोर, मर्स्याङ्दी करिडोर र अन्य स्थानमा विद्युत् आयोजनाहरू धमाधम बनिरहेको अवस्थामा विद्युत् प्रसारण लाइन नहुँदा उल्झन परेको बताए ।

प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरले तत्कालै समन्वयमा काम गर्नुपर्ने उनको सुझाव छ । ऊर्जामन्त्री आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिबारे जानकारी गराएका छन् ।

Leave a Reply

ताजा समाचार