माओवादीले अपहरणपछि हत्या गरेको एमाले कार्यकर्ता बुढाको शव पोष्टमार्टमपछि रुकुम पठाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माओवादीले अपहरणपछि हत्या गरेको एमाले कार्यकर्ता बुढाको शव पोष्टमार्टमपछि रुकुम पठाइयो

बुटवल । अपहरणपछि हत्या गरिएकी एमाले कार्यकर्ता डुथी बुढा भन्ने जुनमाया बुढाको शव बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टम गरिएको छ । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिबकामा उनको हत्या भएपछि शव पोष्टमार्टमका लागि बुधबार बिहान बुटवल ल्याइएको थियो । मृतकका भाइ धनबहादुर बुढा, नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढा, एक प्रहरी हवल्दारले एम्बुलेन्समा उनको शवलाई बुटवल ल्याएका थिए ।

एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले शव पोष्टमार्टम गरी आफन्तमार्फत दाहसंस्कारका लागि रुकुम पठाइएको जानकारी दिए । यही १९ वैशाखमा सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताको आक्रमणबाट करिब आधा दर्जन घाइते भएका थिए । सोही दिनदेखि जुनमाया बेपत्ता भएकी थिइन् । एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि माओवादीले आक्रमण गरी जुनमायालाई अपहरण गरेको र अपहरणपछि हत्या गरेको एमालेको आरोप छ ।

एमाले कार्यकर्ताले घरदैलो अभियान चलाइरहेका बेला माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । अपहरणपछि हत्या गरिएकी जुनमायाको शव मंगलबार घरदेखि करिब तीन किलोमिटरमाथि भेटिएको थियो ।  रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ । माओवादी स्थानीय नेता कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

शव पोष्टमार्टमका लागि बुटवल आएका मृतकका भाइ धनकुमार बुढाले माओवादी कार्यकर्ताले नै दिदीको हत्या गरेको भन्दै कारबाहीको माग गरे । दोषीलाई कारबाही गर्न प्रहरीले बेवास्ता गरिरहेको भन्दै उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरे । शवको प्रकृति हेर्दा कानबाट रगत बगेको, शरीरभर निलडाम रहेका कारण कुटपिटबाट नै हत्या गरेको स्पष्ट भएको एमाले पोलिटब्यूरो सदस्य न्यौपानेले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);