कास्कीमा गठबन्धनः सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कास्कीमा गठबन्धनः सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल

पोखरा । केन्द्रीय सत्ता गठबन्धनभित्रका दलहरू स्थानीय निर्वाचनमा उम्मेदवार चयन लगायत विषयमा कास्कीमा भने अल्मलिएका छन् । केन्द्रीय नेतृत्वको निर्णयमा ढिलाई हुँदा तल्लो तहमा उम्मेदवार सिफारिसदेखि चुनावी गतिविधि सन्चालनसम्ममा अलमल देखिएको हो ।

गठबन्धनभित्रैको दल जनता समाजवादी पार्टीले भने कास्कीको अन्नपूर्ण गाउँपालिकासहित केही वडामा उम्मेदवार टुंग्याएको छ । अन्नपूर्णमा २१ वर्षका नवराज पौडेललाई अध्यक्षमा अघि सारेको छ । त्यसबाहेक अन्नपूर्णका आठ वडामा पनि अध्यक्षका उम्मेदवार सिफारिस भैसकेकाे छ ।

उपाध्यक्षसहित दुई वडाध्यक्ष र आठ सदस्यमा गठबन्धनसँग मिल्न सकिने जसपा नेताहरू बताउँछन् । ‘हामीले जिल्लाका कुनै पनि पालिकामा प्रमुख लिने ठाउँ छैन । कुनै पालिकाको उपाध्यक्ष लिएर सबैजसो वडामा सहभागी हुने हिसाबले जान्छौं,’ एक नेताले भने, ‘प्रभावका हिसाबले अन्नपूर्णमा हाम्रो दावी छ ।’ जसपा नेता नेत्र चपाईं पार्टीको तर्फबाट गाउँ घुम्ने र उम्मेदवार चिनाउने गरी काममा व्यस्त छन् । भन्छन्, ‘अन्नपूर्णको उपाध्यक्ष लिने र सबैजसो वडामा प्रतिनिधित्व हुने गरी गठबन्धन हुन्छ । हामी त्यसकै पक्षमा छौं ।’

कांग्रेसबाट १० वटा वडामा उम्मेदवार सर्वसम्मत भैसकेका जिल्ला सचिव भानु ढकालले जानकारी दिए । ‘वडामा निर्णय भएको छ । सबैले सर्वसम्मत गर्नुभएको छ,’ उनले भने, ‘अहिले त्योभन्दा माथिल्लो निकायमा सिफारिस भएको छैन । हामीले आन्तरिक तयारी सुरू गरिसकेका छौं ।’ एमालेको सिफारिस सकिने बित्तिकै आफूहरूले फटाफट उम्मेदवार टुंग्याउने उनको भनाइ छ । ‘हामी एमालेको सिफारिस हेरेर बसेका छौं । त्यो टुंगिएपछि उम्मेदवार घोषणा गर्छौं । त्यतिबेला गठबन्धन होस् वा नहोस् वास्ता गर्दैनौं,’ उनले भने ।

माओवादीको जिल्ला स्तरीय नेताहरूले मादी गाउँपालिकाको प्रमुखमा दावी गरेका छन् । २०७४ सालको चुनावमा कांग्रेससँग मिलेर मादीका तीन वडामा अध्यक्ष जितेको माओवादीले पाँच पालिकामध्ये मादीमा आफ्नो दावी रहने बताएको हो । तर स्थानीय नेताहरू भने उपाध्यक्ष आफूले लिएर कांग्रेसलाई अध्यक्ष दिन राजी भएका छन् । ‘जनाधार हेर्दा गठबन्धनभित्र कांग्रेस पहिलो पार्टी हो । उसलाई अध्यक्ष दिँदा हाम्रो थोरै सहयोगले चुनाव जित्छ,’ वडाध्यक्ष समेत रहेका नेता लालबहादुर गुरुङ भन्छन्, ‘उपाध्यक्षमा हामीले लियौं भने कांग्रेसका साथीहरूले पनि खुशी भएर भोट हाल्छन् । यसरी सहमति गर्नुपर्छ । मैले नेतृत्वलाई त्यहि सुझाव दिएको छु ।’

नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा प्रमुख पद ताकेको छ । जिल्ला अध्यक्ष धनराज आचार्य आफैले पोखराको मेयरमा दावी गरेका छन् । पार्टीमा पूराना नेता श्रीनाथ बराल समेत मेयरको दावेदार हुन् । तर, पोखराको मेयर कसले पाउने भन्ने टुंगो केन्द्रबाट हुने भएकोले अहिले नै यसै भन्न सकिने अवस्था छैन । २०७४ सालको स्थानीय चुनावमा अन्नपूर्णको अध्यक्षबाहेक सबै प्रमुख र उपप्रमुख एमालेले जितेको हो । ७२ वडामध्ये २४ वडा कांग्रेसले, ३ वडा माओवादी र बाँकी एमालेले जितेको हो ।

कांग्रेस भने पालिकाको प्रमुख कुनै हालतमा नछोड्ने पक्षमा छ । २०७४ सालको मतका आधारमा सबै पालिकामा कांग्रेस दोस्राे रहेको भन्दै प्रमुख पद आफूले लिएर अरुमा गठबन्धन दललाई मिलाउने प्रयास कांग्रेसबाट भैरहेको सचिव ढकालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);