चुनपहरा भत्काउने होइन संरक्षण गर्नुपर्छ भन्दै रक क्लाइम्बिङ महोत्सव | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चुनपहरा भत्काउने होइन संरक्षण गर्नुपर्छ भन्दै रक क्लाइम्बिङ महोत्सव

तनहुँ । स्वदेशी र विदेशी पर्यटकमाझ परिचत तनहुँको एउटै गन्तव्य हो बन्दीपुर । समग्र बन्दीपुर पर्यटकका लागि प्याकेज भए पनि यहाँ ग्रामीण पर्यटनदेखि साहसिक पर्यटनका छुट्टाछुट्टै गन्तव्य छन् । 

बन्दीपुर गाउँपालिका–४ विमलनगरमा छ, साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य चुनपहरा । जहाँ बर्सेनि हजारौँ स्वदेशी र विदेशी पर्यटक रक क्लाइम्बिङ गर्न आइपुग्छन् । पृथ्वी राजमार्गसँगै जोडिएकाले सबै दृष्टिले उपयुक्त मान्छन् साहसिक पर्यटकले विमलनगरको चुनपहरालाई । हिमाल आरोहण गर्नु पूर्व अभ्यास गर्न होस् या सुरक्षाकर्मीको तालिमका लागि रोजाइमा पर्छ चुनपहरा । 

विमलनगरको चुनपहरामा २०६३ सालमा रक क्लाइम्बिङको रुट तयार भएको थियो । त्यसपछि साहसिक पर्यटकमाझ चिनिएको चुनपहरा रुट तयारको भएको १५ वर्षमै अस्तित्व मेटिन्छ कि भन्ने चिन्ता थपिएको छ । मुग्लिन पोखरा चार लेन सडक आयोजनाले चिन्ता थपिदिएको हो । सडक फराकिलो पार्ने क्रममा चुनपहरा भत्कने सक्ने आंशकाले स्थानीय सरकार, पर्यटन व्यवसायी र साहसिक पर्यटनसँग सम्बद्ध संघसंस्था झस्किएका छन् । यी सबैको एकमत छ– कुनै हालतमा चुनपहरा भत्काउनु हुँदैन, सडकका लागि अन्य विकल्प सोच्नुपर्दछ । रक क्लाइम्बिङमा विमलनगरको चुनपहरा जस्तो उत्कृष्ट गन्तव्य अन्त कतै नभएको उनीहरूको दाबी छ । 

सडक फराकिलो बनाउँदा पहरालाई कटान गर्न नहुने विमलनगर सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठ बताउँछन् । ‘चुनपहरा कटान नगरी सडक विस्तार गर्नलाई वैकल्पिक उपाय सोच्नुपर्दछ । हामीले कुनै पनि हालतमा भत्काउन दिँदैनौँ । पहरा संरक्षण गर्न रगतको खोला बगाउन परेछ भने पनि हामी तयार छौँ’, उनले भने । पर्यटनका लागि चुनपहरा राज्यकै गहना भएकाले सबै मिलेर जोगाउनुपर्ने उनको भनाइ छ । देश विदेशबाट चुनपहरा जोगाउनलाई आवाज उठिरहेको उनी बताउँछन् । 

विमलनगरको चुनपहरा नेपालको पर्यटनको लागि कोशेढुंगा सावित हुने बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउँछन् । ‘पृथ्वी राजमार्गको विस्तारको क्रममा भत्कने कुराले सबैलाई झस्काएको छ । नभत्काउनलाई हामीले सरकोकारवालासँग माग गरेका छौँ’, अध्यक्ष थापाले भने । 

सडक विस्तार रोक्न नहुने तर चुनपहरा जोगाउनलाई विकल्प सोच्नुपर्ने उनी बताउँछन् । ‘पहरामा पूर्वाधार थप्दै स्थानीय युवालाई रोजगारसँग जोड्न सकिन्छ । भियाफेरता लगायतका पूर्वाधार थप्नलाई गाउँपालिकाले अध्ययन गर्दै छ’, उनले भने । 

चुनपहरा जोगाउँ भन्ने नाराका साथ शुक्रबारदेखि रक क्लाइम्बिङ महोत्सव नै गरिएको छ । सोमबारसम्म चल्ने महोत्वस पहरामै गरिएको नेपालमै पहिलो पटक हो । महोत्सवको उद्देश्य चुनपहरा भत्काउन हुँदैन भनेर सरोकारवालालाई दबाब दिने रहेको छ । महोत्सवको आयोजना नेपाल पर्यटन बोर्डसँगै बन्दीपुर गाउँपालिका र गण्डकी अल्पाइन क्लबले गरेका हुन् । 

नेपालमा २७ वटा क्लाइम्बिङ रुट भएको एक मात्र विमलनगरको चुनपहरा भएकाले संरक्षण गर्नुपर्ने गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही ठकुरी बताउँछन् । 
‘सडक सञ्जाल र खर्चको हिसाबले पर्यटकलाई चुनपहरा उपयुक्त छ । अन्तको पहरा यस्तो छैन् । तसर्थ रक क्लाइम्बिङका लागि यो नेपालकै उत्कृष्ट गन्तव्य हो’, उनले भने । चुनपहराको प्रर्बद्धन गर्न बन्दीपुरका अन्य गन्तव्यसँग जोड्न उनको सुझाव छ ।

केही दिन अगाडि मात्र विमलनगर चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण समितिले भौतिक तथा पूर्वाधार मन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाएको थियो । समितिले सडक विस्तारको बेला चुन पहरालाई जोगाउन तीन विकल्पसमेत पेस गरेको छ । विकल्पमा हाल कायम गरिएको मापदण्ड घटाउने, पहरा क्षेत्रको मापदण्ड घटाएर नदीतर्फ बढाउने र विमलनगरको पुलबाट पारी हुँदै लगभग एक दशमलव ५ किलोमिटर वैकल्पिक ट्रयाक खोलेर नयाँ पुल हुँदै निस्कने सडक बनाउन सुझाव दिइएको छ ।

सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडकखण्ड चार लेनको बन्दै छ । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाईएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिट सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । 

जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको हो । आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । सडक फराकिलो पार्ने र रुख कटानको काम सुरु भइसकेको छ । विमनगरको चुनपहरालाई कसरी जोगाउन सकिन्छ भनेर अध्ययन भइरहेको मुग्लिन पोखरा चारलेन सडक आयोजनाले जनाएको छ ।  आयोजना सुरुवातकै चरणमा भएकाले भइरहेको संरचनालाई असर नपु¥याइकन काम गर्ने आयोजनाले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);