काठमाडौं, २२ कार्तिक । जमिनमा उब्जनी गरिरहेछन्, तर लालपुर्जा छैन। नागरिकता नभएकाले विवाह दर्ता हुन सकेको छैन, पत्नी र सन्तानले पनि नागरिकता पाउन सकेका छैनन् । नागरिकता नभएकै कारण राज्यबाट पाउने सेवा र सुविधाबाट समेत वञ्चित छन् । बाढी, डुबान र कटानको डरलाग्दो त्रास सधैं छ । २ सय ६५ घरधुरी रहेको टापु बस्ती सुस्तामा पुग्ने बाटो छैन । कि भारत भएर जानुपर्छ, कि त जोखिमपूर्ण डुंगाको यात्रा। तर भोट माग्न आउने नेताहरु ‘डुबानको राजनीति’ गरेर कहिल्यै थाक्दैनन्।
नवलपरासीको सुस्तामा बेलाबेला भारतीय अतिक्रमण र नेपालीमाथि दमन भएका खबर आइरहन्छन्। दलहरूले समेत आफ्नो भूमिमा भारतीय हस्तक्षेपको उदाहरणका रूपमा यही बस्तीलाई देखाउँछन्। एकातिर नारायणी र अर्कातर्फ नेपाल–भारत सीमाका कारण बस्ती टापु बनेको छ । यहाँका बासिन्दा २०२२ सालदेखि ‘अनागरिक’ को पीडा भोग्न बाध्य छन्। प्रत्येक निर्वाचनमा झैं योपल्ट पनि उनीहरू उम्मेदवारसित नेपाली भूमि र माटोको नागरिक भएको प्रमाण मागिरहेका छन्। – आजको कान्तिपुर दैनिकबाट