तालिबान आएपछि अफगानिस्तानमा पत्रकारको जीवन जोखिममा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तालिबान आएपछि अफगानिस्तानमा पत्रकारको जीवन जोखिममा

काठमाडौं । पछिल्ला दुई महिनामा अफगान पत्रकारविरुद्ध ३० हिंसात्मक घटना अभिलेख गरिएको र तीमध्ये ९० प्रतिशत घटना तालिवानले गराएको जनाइएको छ।

‘अफगानिस्तान नेसनल जर्नालिस्ट युनियन (एएनजेयु) ले अभिलेख गरेकामध्ये ४० प्रतिशतभन्दा बढी मुद्दा भौतिक आक्रमण र अरु ४० प्रतिशत मुद्दा धम्कीसँग सम्बन्धित छन्,’ मिडिया वाचडग ग्रुपका प्रमुख मसोरो लुट्फीले भने। अन्य घटनामध्ये पत्रकारलाई एक दिन थुनामा समेत राखिएको छ। तालिबानविरुद्ध समाचार लेखेको भन्दै एक पत्रकारको हत्यासमेत गरिएको छ। 

सेप्टेम्बर र अक्टुबर महिनामा अफगानिस्तानभरि पत्रकारमाथि भएका ३० वटा हिंसात्मक घटनाको विश्लेषण गरिएको थियो, जसमध्ये ६ वटा घटना राजधानी काबुल र अन्य घटना राजधानीबाहिर भएका थिए। 

पत्रकारमाथि भएका अधिकांश हिंसात्मक घटना तालिबान सदस्यहरूले गराएका थिए भने तीनवटा घटना चाहिँ अज्ञात समूहले गराएको लुट्फीले जानकारी दिएका छन्। अफगानिस्तानका तालिबान शासकले आफूहरूलाई मान्यता नदिएका अन्तर्राष्ट्रिय समुदायसँग कूटनीतिक च्यानल खाल्ने पहल सुरु गरिरहेका बेला यो रिपार्ट प्रकाशित भएको छ। तालिबानले आफूलाई जिम्मेवार शासकका रूपमा प्रस्तुत गर्न खोजिरहेका छन्, उनीहरूले सबैलाई सुरक्षा दिने प्रतिबद्धतासमेत जनाएका छन्।

तालिबानका उपसांस्कृतिक तथा सूचना मन्त्री एवं प्रवक्ता जबिहुल्लाह मुजाहिदले पत्रकारमाथि भएका घटनाबारे जानकारी रहेको र दोषी पत्ता लगाई कारबाही गरिने एपीलाई बताएका थिए । ‘हाम्रा साथीहरूको अपरिपक्वता र अव्यवसायिकताले गर्दा यो समस्या निम्तिएको छ,’ समस्या समाधान गर्ने वाचा गर्दै मुजाहिदले भने।

आइएसआइएल (आइएसआइएस) समूहले अक्टुबर सुरुमा बन्दुकधारीले गरेको आक्रमणको जिम्मेवारी लिएको थियो। पूर्वी नान्गाहार प्रान्तमा भएको उक्त घटनामा पत्रकार सैयद मारुफ सादात र अनका भाइ एवं दुई तालिबान सदस्य मारिएका थिए । गत अगस्टमा अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लगेपछि अफगानिस्तानमा सादातलगायत तीन पत्रकार मारिएका थिए।

काबुल एयरपोर्ट खाली गराउने क्रममा भएको आत्मघाती बम आक्रमणमा रहा न्युज एजेन्सीका रिपोर्टर अलिरेजा अहमादी र जाहान-इ-सेहात टिभी च्यानलका एंकर नाज्मा सादेकी मारिएका थिए। 

तालिबान अधिकारले बारम्बार मिडियालाई इस्लामिक कानुन पालना गर्न आग्रह गर्दै आएका छन्। लुट्फीको समूहले मिडिया संस्था र तालिबान अधिकारीसँग एउटा विधेयकबारे छलफल गरिरहेको छ, जसले मिडियालाई दैनिक कार्य सञ्चालन गर्न सजिलो बनाउँछ।

अफगानिस्तान पत्रकाहरुका लागि लामो समयदेखि जोखिमयुक्त मुलुक रहँदै आएको छ। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपिजे) ले गत सेप्टेम्बरमा जारी गरेको विज्ञप्तिअनुसार सन् २००१ यता अफगानिस्तानमा ५३ पत्रकार मारिएकामा सन् २०१८ मा मात्र ३३ पत्रकारको हत्या गरिएको थियो।

गत जुलाईमा पुलिट्जर पुरस्कार विजेता रोयटर्सका पत्रकार तालिबान र अफगान सेक्युरिटी फोर्सबीचको भिडन्तको रिपोर्टिङ गरिरहेका बेला मारिएका थिए। सन् २०१४ मा काबुलको होटलमा खाना खाइरहेका बेला तालिबान हतियारधारीको आक्रमणमा एजेन्सी फ्रान्स प्रेस (एएफपी) का पत्रकार, उनकी श्रीमती र दुई छोराछोरीसहित नौ जनाको मृत्यु भएको थियो। 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);