हिमाली क्षेत्रका किसानलाई याक र चौँरीको खुराक जोहो गर्न चटारो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

हिमाली क्षेत्रका किसानलाई याक र चौँरीको खुराक जोहो गर्न चटारो

ताप्लेजुङ ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई  खुराक (घाँस) को जोहो गर्ने चटारो छ । हिउँदमा हिमपात हुने हुँदा त्यहाँका बासिन्दालाई याक र चौँरीका लागि हिउँदे खुराकको जोहो गर्ने चटारो परेकाे हाे । 

हिमाली बस्तीका बासिन्दाको मुख्य पेसा नै याक र चाैँरी पालन हो । कात्तिक अन्तिमदेखि चैतसम्म नै करिब पाँच महिना बढी हिमपात हुने भएकोले अहिले हिउँदे घाँसको जोहो गर्न थालेको स्थानीयले बताएका छन् ।

हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि चरन क्षेत्रमा हिउँले ढाक्ने र त्यसबेला याक तथा चौँरीका लागि खुराक (घाँस) को अभाव हुने फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताए । शेर्पाका अनुसार हिउँले चरन क्षेत्र ढाक्ने हुँदा हिमपातको मौसममा चौँरी र याकलाई खुवाउने घाँस यहिबेला जोहो गर्नुपर्ने बाध्यता छ । हिमपातले गर्दा चरन क्षेत्रको अभाव हुने भएकै कारण हिउँदको मौसममा याक र चौँरी बचाउनलाई अहिले अनिवार्य हिउँदे घाँसको जोहो गर्नुपर्ने अवस्था रहेको ओलाङ्चुङगोलाकै अर्का स्थानीय छेतेन फिन्जो शेर्पाले बताए । 

स्थानीयले सामुहिक रुपमा घाँस संकलन गर्नेगरी घाँसे क्षेत्रको संरक्षण गर्दै आएको र हाल सोही क्षेत्रमा स्थानीय सबै जुटेर घाँस संकलन गरिरहेको फुपुफुटी शेर्पाले बताए । विगतदेखि नै ओलाङ्चुङगोलाका याक र चौँरी पालक किसानले संरक्षण गर्दै आएको घाँसे क्षेत्रमा घाँस संकलन गर्ने गरिएको शेर्पाले बताए । 

उनका अनुसार प्रत्येक वर्ष असोज महिनामा पशुपालक सबै परिवार जुटेर घाँस संकलन गर्ने (काट्ने) गरिएको र घाँसलाई दुई-चार दिनसम्म सुकाएर आ-आफ्नो घर गोठमा भण्डारण गरेर राख्ने गरिएको छ । राम्ररी सुकाएर घर-गोठमा भण्डारण गरेर राखेको घाँस हिमपातको अवधिभर याक र चौँरीलाई खुवाउने गरिएको स्थानीय बताउँछन् ।

कुनै वर्ष हिमपातको मौसम लम्विने हुँदा यतिबेला भण्डारण गरेर राखेको घाँस नै थोर–थोरै खुवाएर भए पनि याक र चौँरीको प्राण बचाउने गरिएको ओलाङ्चुङगोलाका स्थानीय छिरिङ दोर्जे शेर्पाले बताए ।

मुख्य पेसा र आम्दानीको प्रमुख स्रोत नै याक तथा चौँरी पालन भएकाले ओलाङ्चुङगोलासहित याङ्मा, तोक्पेगोला, फले र घुन्सा क्षेत्रका बासिन्दा हिउँद र बर्खा नै याक र चौंरीको गोठ सम्हाल्ने गर्दछन् । घाँस (खुराक) नपाएर वा अन्य कारणले एउटा मात्र याक वा चौँरी मरेमा डेढ लाख रुपैयाँसम्म घाटा हुने स्थानीय बताउँछन् ।

साढे दुई वर्षदेखि कोरोना महामारीका कारण तिब्बततर्फ याक र चौँरी बिक्री नभएकाले संख्या पनि बढेको र हिमपातको मौसममा खुराक पुर्‍याउनलाई समेत हैरानी हुने उनीहरूको भनाइ छ । 

हाल ओलाङ्चुङगोला क्षेत्रमा मात्र सातवटा जति याक र चौँरीको गोठ रहेका छन् । उक्त गोठमा करिब साढे चार सय याकको संख्या रहेको स्थानीयले बताएका छन् ।

चौंरीको संख्या पनि सोही अनुपातमा रहेका बताइएको छ । तोक्पेगोला क्षेत्रमा करिब ३५ वटा याक र चौँरीका गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु लामाले बताए । उनका अनुसार तोक्पेखोला क्षेत्रमा दुई हजार बढी याक र चौँरी रहेका छन् । त्यस्तै याङ्मा, फले र घुन्सा क्षेत्रमा पनि दर्जनौ गोठहरू रहेका घुन्साका स्थानीय पेमा शेर्पाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);