हराउँदै रातो माटो, खोटो र कमेरोको प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

हराउँदै रातो माटो, खोटो र कमेरोको प्रयोग

धनकुटा । दशैँ र तिहारको समयमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन हराउँदै गएको छ । विशेषगरी परंपरागत शैलीका ढुंगा, माटो तथा काठको प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्थ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि ती वस्तुको प्रचलन हराउँदै गएको हो ।

केही वर्षअघिसम्म दशैँअघि धनकुटामा घर रंगाउनका लागि यहाँका चिम्टिया र रातोमाटो भएका ठाउँमा ठूलै संख्यामा सर्वसाधारण माटो लिन जान्थे । पछिल्लो समय अधिकांश घरमा सिमेन्टको प्रयोग हुन थालेसँगै माटो ल्याउने प्रचलन हराउँदै गएको हो ।

माटोले लिपपोत गरेपछि विगतमा गाउँका घरहरू रातो देखिने र चिटिक्क पर्ने स्थानीय दिलकुमारी थापाले सुनाइन् । माटोसँगै घर सजाउन यहाँका स्थानीयले खोलाको कमेरो र सालको लोप्रा पकाएर बनाइएको खोटो प्रयोग गर्ने गरेको उनले जानकारी दिइन् ।

पछिल्लो समय सिमेन्टको प्रयोग बढ्न थालेसँगै सर्वसाधारणले माटो, कमेरो र खोटोको विकल्पमा आधुनिक रङको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

रातो माटोसँगै घरलाई सजाउन खोटो पकाएर झ्याल-ढोकामा लगाउने तथा कमेरो लगाउने प्रचलन पनि हट्दै गएको उनले जानकारी दिइन् । छिप्पिएको सालको लोप्रा ताछेर पानीमा पकाएर कालो रङको खोटो तयार गरिन्छ । सालको लोप्राबाट बनाइएको खोटो वर्षमा एक पटक झ्याल-ढोकामा लगाएपछि धमिराले नखाने तथा धुल्याहा नलाग्ने अर्का स्थानीय नरबहादुर विश्वकर्माको अनुभव छ ।

‘विगतमा घरमा रातो माटो, खोटो र कमेरोले लिपपोत गर्नु दशैँ, तिहारसँगै जोडिएको संस्कृतिको अर्को पाटो जस्तै बनेको थियो’, विश्वकर्माले भने, ‘आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने ती कुरा इतिहास जस्तै बन्ने गरेका छन् ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);