पालिका तहको नेतृत्व चयनका लागि कांग्रेस मोरङको चुनाव हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पालिका तहको नेतृत्व चयनका लागि कांग्रेस मोरङको चुनाव हुँदै

विराटनगर । मोरङमा नेपाली कांग्रेसले आज स्थानीय तहस्तरीय नेतृत्व चयन गर्दैछ । नेतृत्वका लागि प्यानलनै बनाएर कांग्रेसका नेताहरु चुनावी मैदानमा गएका छन् । केन्द्रमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र उनी इतर समूहजस्तै गाँउ नगरमा पनि त्यसको असर देखिएको छ । प्रदेश १ को एकमात्रै महानगरपालिकामा विराटनगरमा ४ जना चुनावी मैदानमा रहेका छन् । सभापतिका लागि दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्णबहादुर कार्कीले शुक्रबार उम्मेदवारीका लागि मनोनयन दर्ता गराएर चुनावी मैदानमा छन् । निर्वाचनमा ६८१ जनाले मतदान गर्ने पाउने नेपाली कांग्रेस विराटनगरले जनाएको छ ।

कटहरी गाउँपालिकामा रामकुमार कामत, हरिनारायण माझी र शम्भु साहले सभापतिको चुनावी मैदानमान छन् । कामतलाई पौडेल समूहका महेश आचार्यको समर्थन छ भने माझीलाई देउवा पक्ष नेताको समर्थन रहेको जनाइएको छ । बुढीगंगामा जितबहादुर थापा र रेवतीनारायण चौधरी सभापतिको लागि भिडेका छन् । थापा कोइराला निकटका हुन् भने चौधरी देउवानिकट रहेको बुझिएको छ । 

रंगेली नगरपालिकामा सभापतिमा जितनारायण खवास र जगनाथ मण्डलबीच प्रतिपर्धा हुने भएको छ । दुई जना नै  देउवा समूहका हुन् । 

सुनवर्षी नगरपालिकामा महेश्वर राजवंशी, कमलकिशोर सिंह, वैजनाथ झाले सभापतिका लागि चुनावी मैदानमा छन् । रतुवामाईको सभापतिमा कनैयौलाल राजवंशी र पोष्टबहादुर बस्नेतबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

सुन्दर हरैँचामा महेन्द्र धिमाल र भक्ति सिटौला सभापति लागि चुनावी मैदानमा छन् । सिटौलालाई कोइराला पक्षका नेताको समर्थन रहेको छ भने धिमाललाई देउवा पक्षको समर्थन रहेको छ ।

बेलबारीको सभापतिमा छत्र लिम्बू र शम्भु भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । लिम्बू पौडेल समूहका हुन् भने भट्टराई देउवा समूहका नेता हुन् । पथरी शनिश्चरेको सभापतिमा ईश्वर थापा, लोकमान खरेल र रुपनारायण भट्टराई मैदानमा छन् । खरेल देउवा समूह, भट्टराई पौडेल समूहका कोइराला र थापालाई पौडेल समूहकै महेश आचार्यको समर्थन छ ।  

उर्लाबारी नगरपालिका, जहदा, र केराबारी गाउँपालिकामा सभापतिसहितका पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन् । केराबारीमा पनि सभापतिसहित सबै पद सर्वसम्मत भएको छ। जदहामा महेन्द्र मण्डलसहितका पदाधिकारी सर्वसम्मत भएको मोरङ कांग्रेसले जनाएको छ ।

उर्लाबारी र केराबारीका सर्वसम्मत दुवै सभापतिलाई पौडल समूह र डा शेखर कोइरालाको समर्थन रहेको छ । धनपालथानमा सभापतिबाहेक पदाधिकारीमा सर्वसम्मत भए पनि सभापतिमा दिपकवीर पाण्डे र वासुदेव रायबीच प्रतिस्पर्धा हुने छ । 

मिक्लाजुङमा बबि राई र अरुणविक्रम बस्नेत सभापतिका लागि चुनावी मैदानमा छन् ।

शनिबार विहान ८ देखि दिउँसो २ बजेसम्मलाई मतदानको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत केदार कार्कीले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);