काठमाडौं । माओवादी केन्द्रले आगामी पुसमा हुने राष्ट्रिय महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार स्थानीय तहका अधिवेशनको मिति सारेको हो ।
माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार आगामी ३० असोजका लागि तय भएको पालिका अधिवेशनको मिति धकेलिएको छ ।
दशैं परेका कारण कार्यतालिका प्रभावित भएको उनले स्थायी कमिटी बैठकपछि जानकारी दिए ।
१३ कात्तिकमा वडा सम्मेलन र ४ मंसिरमा पालिका सम्मेलन गर्ने निर्णय स्थायी कमिटीले गरेको छ । माओवादीले आगामी ११ देखि १३ पुसमा राष्ट्रिय सम्मेलन गर्ने गरी यसअघि महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो ।
माओवादीको केन्द्रीय कमिटी बैठकले भदौ मसान्तसम्म सदस्यता नवीकरण गर्ने भनेकोमा अब यो असोज मसान्तसम्म सारिएको छ । १० असोजमा देशभरका सेल र टोल भेला गर्ने निर्णय गरेको भए पनि कतिपय स्थानमा यो काम सम्पन्न हुन सकेको छैन ।