काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि सरकारमा जाने सम्भावना देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा विश्वासको मत दिएको लोसपा पनि सरकारमा जाने सम्भावना देखिएको हो ।
प्रधानमन्त्री देउवा तथा लोसपाका नेताहरुबीच सरकारमा जानेबारेमा प्रारम्भिक छलफल भएको लोसपाका नेता शरदसिंह भण्डारीले बताए ।
‘प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकाले लोसपा पनि स्वतः सत्तारुढ दल भएको छ, सत्तारुढ दल भएपछि लोसपा पनि सरकारमा जाने सम्भावना छ’, भण्डारीले भने, ‘प्रारम्भिक छलफल भएका छन् । तर, कुरो टुंगोमा पुगिसकेको छैन ।’ उनका अनुसार पार्टीका शीर्ष नेताहरुबीच छलफल र संवाद भइरहेका छन् ।
‘मधेसका मुद्दाका बारेमा सरकार र लोसपाबीचमा एक किसिमको सम्झौता भएर कार्यान्वयनमा पनि गर्ईसकेको छ, अब अर्को कुनै सम्झौता गर्न जरुरी छैन,’ भण्डारीले भने, ‘त्यसैले सत्तारुढदल सरकारमा जान सक्छ, कुराकानी टुंग्याउन बाँकी छ ।’ उनकाअनुसार प्रधानमन्त्री देउवा र लोसपा दुवैतर्फ छलफल र संवाद जारी छ ।