निःशुल्क स्वास्थ्य शिविरबाट विषेशज्ञ सेवा पाउँदै हुम्ली | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

निःशुल्क स्वास्थ्य शिविरबाट विषेशज्ञ सेवा पाउँदै हुम्ली

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा तीन दिनका लागि स्वास्थ्य शिविर सञ्चालन भएको छ । सिमकोट गाउँपालिका र जिल्ला अस्पताल हुम्लाको समन्वयमा गोर्खा आइल फियर ट्रष्ट संस्थाको आर्थिक सहयोगमा आँखा, नाक, कान, र अपाङ्गता भएका व्यक्तिका लागि शिविर सञ्चालन भएको छ ।

हुम्लाका अतिविपन्न, गरिब, तथा लक्षित वर्गका व्यक्तिका लागि जिल्ला बाहिरबाट आएको टोलीले निःशुल्क रुपमा शिविर सञ्चालन गरेको छ । शिविरमा आँखा, नाक, कान, र हात खुट्टामा समस्या भएको व्यक्तिका लागि निःशुल्क औषधि उपचार गरिने शिविरका म्यानेजर जय लिम्बुले बताए । शिविर भदौ १४ गतेसम्म सञ्चालन गर्ने भनिए पनि औषधि र उपकरण जिल्लामा समयमै नपुग्दा एक दिन ढिला गरी १५ गतेसम्म सञ्चालन हुने म्यानेजर लिम्वुले जानकारी दिए ।

दुर्गम जिल्लाका नागरिक बिरामी हुँदा आर्थिक अभावले थप उपचार गर्न जिल्ला बाहिर जान नसक्ने बाध्यता छ । यहाँका बिरामीले उपचार गर्न जिल्ला बाहिर जानुपर्दा कम्तिमा एक लाख भन्दा बढी खर्च हुने गर्छ । स्वास्थ्य शिविरमा पाँचजना विशेषज्ञ डाक्टर र २४ जना स्वास्थ्यकर्मी गरी २८ जनाको टोलीले विभिन्न रोगका बिरामीलाई सेवा दिइरहेको आयोजकले जनाएको छ ।

शनिबारबाट सञ्चालन भएको शिविरमा पहिलो दिन १ सय ३५ जनालाई सेवा दिएको आयोजकले जनाएको छ । कान नसुन्नेलाई सभ नियन्त्रक, कानको समस्या भएका बिरामीको अप्रेशन, आँखाको मोतीविन्दु अप्रेसन, अपाङ्गता भएका व्यक्तिहरुलाई फिजथेरापीसँगै कृतिम अंगहरू प्रदान गरी सेवा दिने गरेको लिम्बुले जानकारी दिए ।

शनिबार पहिलो दिन चंखेली र सर्केगाड गाउँपालिकाका स्थानीयले सेवा लिएका छन् । त्यस्तै दोस्रो दिन ताँजाकोट, अदानचुलि र खार्पुनाथ गाउँपालिका र तेस्रो दिन सिमकोट र नाम्खा गाउँपालिकाका नागरिकहरुले सेवा लिन पाउने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);