काठमाडौँ, ११ कार्तिक । राजनीतिक दलका महिला सदस्य एवम शीर्ष नेतृहरुले पार्टीभित्र शक्तिशाली पुरुष (हेभिवेट)को नाम देखाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा आफु्हरुलाई कम्जोर औल्याई उम्मेदवार बन्नबाटै पन्छाउने खेल भएको बताएका छन्।
राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई पनि ठाउँ दिनुपर्ने, वेवास्ता गरेमा जुलुस र धर्नासम्मका विरोधका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिए।
आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा ८०७ जनाले उम्मेदवारी दिएका छन् भने महिला उम्मेदवारको संख्या ४१ मात्र रहेको छ । तीमध्ये १८ जना प्रतिनिधिसभामा र २३ जना प्रदेशसभामा उम्मेदवार रहेकोमा केही महिला उम्मेदवारको उम्मेदवारी फिर्ता गर्न समेत लगाइएको थियो।
देशको संविधानले ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चित गरेको छ तर निर्वाचनमा महिलाको उम्मेदवारी भने चाँहि पाँच प्रतिशत मात्र भएपछि महिला नेत्रीबाट त्यसप्रति आपत्ति व्यक्त भएको हो। मुलुकमा राजनीतिक परिवर्तन भए पनि नेताहरुमा महिलाप्रति हेर्ने दृष्टिकोणमा सुधार आउन नसकेको भनी चिन्ता व्यक्त गर्दै उनीहरुले महिलाको समस्या राज्यको सवालका रुपमा नबुझ्दा महिला प्रतिनिधित्व कमजोर देखिएको टिप्पणी गरेका छन्।
महिलाले उम्मेदवारी दिन नसक्ने भ्रम फैलाई पार्टी आँफैले भित्रभित्रै खेलेको उनीहरुको दाबी छ। निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार कुल मतदाता एक करोड ५४ लाख २७ हजार ९३५ मध्ये महिला ७६ लाख ५१ हजार १४१ छन्।